ब्याचलर त सकियो, ह्वाट नेक्स्ट!

ब्याचलर त सकियो, ह्वाट नेक्स्ट!

स्कुल लेभलमा यतिसम्म कमजोर थिएँ कि एकपटक प्रिन्सिपल सरले ‘१२ वर्षे गोदावरी मेलामा नुहाएर आइज, अलि पढ्न आउँछ कि’ भनेर भन्नुभयो। यसपछि भने मैले पढ्ने तरिका फेरबदल गरेँ। मेहनत गरेपछि राम्रै अंकका साथ विद्यालय तह पार गरियो।

प्लस टुमा व्यवस्थापन विषय लिएर पढेँ। १२ पढियो, धेरै ज्ञान हासिल गरेँ भन्ने दम्भ हुन थालेको थियो। जब उच्च पढाइ भएका व्यक्तिहरूसँग भेट, कुराकानी हुन थालेपछि अझै पढ्न बाँकी नै रहेछ भन्ने लाग्यो।

प्लस टुमा हेर्न लायक कै नम्बर आयो। यसपछि व्यवस्थापन विषय रोजियो र पढाइको सुरुवात गरियो। चार वर्ष लामो अन्तरालको पढाइ, त्यसमाथि कोरोनाले एक वर्ष ग्याप। जे होस्, ब्याचलर सकियो।

तर, अन्तिम सेमेस्टरको नतिजा नआउँदै मनमा कौतूहलता बढ्न थाल्यो। प्रश्न उब्जन हुन थाले, ब्याचलर पछि के गर्छस् केटा? लोक कै प्रश्न थियो। अब बिहे, विदेश कि यतै पढाइ। अलमल्लमा परेको मेरो ध्यान त्यतै केन्द्रित भयो। निष्कर्षमा सोच्ने बाहेक के नै गर्न सक्छु र?

पढाइको पिरलो हुँदा त्यत्ति कसैलाई मतलब नहुने। विचरा पढ्दैछ, होस् न त भन्ने लाग्ने रहेछ।

यो चार वर्षसम्म आफैँलाई पनि अझै बच्चै छु झैँ अनुभूति हुन्थ्यो। न पैसाको पिर न जागिरको। जब अन्तिम परीक्षा सकेर रिपोर्ट बुझाउन मात्रै बाँकी थियो तब घरमा गाइँगुइँ बिहेको कुरा चल्न थालेछ।

चुस्स यो कानले पनि सुन्यो अनि मनमा कौतूहलता जाग्न थाल्यो। न जागिर, न सकिएको पढाइ, केको बिहे। तर पारिवारिक तर्क, बिहेले न तेरो पढाइ छेक्छ न जागिर नै।

‘उमेर पनि भयो, ब्याचलर पास गर्न आँटिहालिस्, अब पनि बिहे नगरे कुमारै बस्लास् नि! जागिर भन्या त एउटी लुरी ल्याएपछि खाए पनि हुन्छ। उमेर बढ्दै गएपछि भोलि बिहे गर्न एउटी लुरी पनि नभेट्लास्। पाइहाले पनि भनेको जस्तो मान्छे पाउन गाह्रै होला है’, यस्ता कुराको ओहिरो लाग्न थाल्यो।

यस्ता भयभीत गराउने कुराले आजको चियाको चुस्कीमा पनि के कमी भए झैँ भयो। सधैँ मीठो लाग्थ्यो, त्यो चिया पनि आज त चियापत्ति, चिनी वा दूध खै के नपुगे जस्तो लाग्यो। अर्काकी छोरी ल्याएर न कमाइ, न गतिलो पढाइ। सायद यही सोचले होला।

आफूसँगै प्लस टु सकेका साथी बागबजारको एउटा गल्लीमा गएर आइएल्टस् पढ्छ र विदेशिन्छ। ३/४ वर्षपछि नेपाल फर्किन्छ, अनि उही पुरानो साथीलाई चियाको निम्तो गर्छ।

सुरूप्प चियाको गुलियो सर्को तान्दै उसको डलरको कुरा र मेरो बाको खल्तीमा अडिन हुन परेको अवस्थाको परिकल्पना गर्छु।

तैट! बेलैमा साथीभाइको लैलैमा लगेर विदेशिएको भए मेरा पनि यिनका जस्ता करोडौंका चिया गफ फुर्ने दिन आउँथ्यो होला झैँ लाग्छ।

उनीहरूले हरिया डलर र प्लटिङको कुरा गर्दा मलाई भने किताबका अगाडि लेखेका मूल्य र कुन चाहिं पसलेले सेकेन्ड ह्याण्ड किताबको बढी मूल्य दिन्छ र अर्को सेमेस्टरका किताब साट्न सहुलियत हुन्छ भन्ने अवस्थाको सम्झना आउँथ्यो।

म प्रश्न गर्छु, ‘अब बिहे गर्दैनस्?’

उसको अमृतमुखी वाणी निस्कन्छ, ‘एउटा घर र ३०/४० लाख बैंक ब्यालेन्स नभइ के बिहे गर्नु यार।’

घुटुक्क गुलियो चियाको साथमा थुक निल्छु म र नेपाली जागिरको आशमा बस्छु। कि सरकारी खान पर्यो कि प्राइभेट।

सरकारी जागिर खानका लागि पढेर मात्र पुग्दैन, किताबका पन्ना औषधि घोलेर खाए झैँ खानुपर्ने, त्यसमा पनि ठूलो प्रतिस्पर्धा।

प्राइभेटका लागि त कि आफ्नै बाको कम्पनी हुनुपर्यो, कि नातावाद र कृपावादको सिद्धान्तको अनुसरण गर्न बाध्य हुनुपर्यो।

अब कुरो गरौँ बिहेको।

बिहे भनेको गरगहना प्रदर्शन गर्ने, पार्टी प्यालेसमा तामझामका साथ तीन चार सय जनालाई भोज खुवाउने र प्रोफाइल चेन्ज गर्ने एक बहाना हो जस्तो लाग्न थाल्यो। परम्परालाई मैले अस्वीकार गरेको त होइन। तर, तामझामको यो खर्चले समाजको कुनै दु:खद् घटनालाई मल्हम लाउने हो भने कति आशिक मिल्थ्यो होला भन्ने कल्पना गर्छु।

मेरो किमार्थ निर्णय कि मास्टर सक्ने वा विदेश पलाएन हुने। यसो भनिरहँदा विवाह नै गर्दिनँ भन्ने परिलक्ष्य पनि होइन। विवाह गर्ने, घर बसाउने, परिवार बनाउने कसलाई चाहना हुँदैन? साथै आफ्नो सुन्दर र चकित भविष्य सजाउने पनि।

तर, त्योभन्दा पहिला जीवनमा केही गर्नुछ, करियर बनाउनुछ, जागिर गर्नुछ। आफ्नो लागि आफैँले कमाउन सक्ने हुनुछ, त्यसैमा थियो मेरो ध्याउन्न। 

प्रेमका सन्दर्भमा न मसँग कुनै महँगा बाइक थियो, न फजुल खर्च गर्ने पैसा नै। यस्तो अवस्थामा कुनै प्रियसीले पत्याउलान् भन्ने जपनामा नै छैन, प्रेम त दूरको कुरा।

यदाकदा कतिपय प्रेम जोडीबीच बसेको मायाको लत देख्दा आश्चर्यमा पर्छु। बाआमाका विश्वासका धारालाई उल्लङ्घन गर्दै, सार्वजनिक स्थानमा घुमेको, लुकेर बसेको दृश्यले भयभीत हुन्छु।

हुन त ममा यस विषयमा त्यति कौतूहलता पनि छैन, त्यसैले अझै हँसिलो छु कि!

खुसी हुने प्रयास गर्छु। पेट बढेकाे छ तर ठीकै छ। मेरो शारीरिक बनावट मेरा लागि हो। मलाई हेर्नेहरूको लागि हो र? भन्ने लाग्छ। स्वस्थ्य छु त्यसैले मोटाउँछु कि भनेर खानेकुरा बार्दिनँ। मलाई अरू जस्तो जिम जानु पनि पर्दैन। न त गुलिया खानेकुरादेखि टाढा भाग्नुपर्छ।

जीवनमा आर्थिक पाटो अलि बलियो भयो भने भोलि जे गर्न पनि सजिलो हुन्छ भनेर विश्लेषणात्मक तर्क दिने विज्ञहरूको कुरामा पनि म विश्वस्त नै छु। 

विना व्यक्तिगत आम्दानी बुबाले कमाएको चामलका दाना खाँदै म सोच्छु, ‘तत्काल जागिरमा जाउँ १५/२० हजारदेखि माथि कसैले पत्याउने होइनन्। अब के गर्ने? बिहे गर्न  ससुराले ज्वाइँ के गर्छन् भन्ने प्रश्न नगर्लान् भन्न सकिन्न। त्यतिबेला मौन बस्नुबाहेक मेरा मुखबाट एक पंक्ति पनि निक्लिनेवाला छैन।’

यति सोचिरहँदा पनि लाग्छ प्रकृतिले मलाई खुसी व्यक्ति बनाएको छ। यत्तिका कुरा मनन गर्दा प्रकृति एउटा उपहार नै हो भन्ने कल्पना गर्छु।

२ भदौ, २०८०, १२:४१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।