नक्कली शरणार्थी र सुन तस्करीमा प्रहरीसँग तर्सिएका प्रधानमन्त्री एआइजीपी र एसएसपी सरुवा गर्दै

नक्कली शरणार्थी र सुन तस्करीमा प्रहरीसँग तर्सिएका प्रधानमन्त्री एआइजीपी र एसएसपी सरुवा गर्दै

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र नौ किलो सुन तस्करीको अनुसन्धानबाट प्रहरीसँग रुष्ट बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रहरीको एआइजी र उपत्यका अपराधसहित काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुखको सरुवा गर्ने गृहकार्यमा लागेका छन्।

सरुवाको ६ महिनामै एआइजीपीहरुको सरुवाको गृहकार्य सक्काइसकेका छन् प्रधानमन्त्रीले। एआइजीपीको सरुवा मन्त्रीपरिषद्ले मात्र गर्न सक्छ।

उता यही मौकामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि तीन एसएसपीको सरुवा गर्ने तयारी गरेको विश्वस्तस्रोतले जानकारी दियो। एसएसपी सरुवाको अधिकार गृहमन्त्रीसँग रहेको छ।

गृहमन्त्री श्रेष्ठले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी, जिल्ला प्रहरी परिसरका एसएसपी दानबहादुर कार्की र ललितपुरका एसएसपीको सरुवा गर्ने तयारीमा छन्। यही सुचीमा भक्तपुरका एसपी प्रजित केसी समेत सरुवा हुन सक्छन्।

प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरबिच सरुवा सम्बन्धी छलफल भइसकेको छ। प्रधान कार्यालयले हालै गृह मन्त्रालयबाट स्वीकृति लिएर सरुवा सम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ जसमा कार्यालय प्रमुखको सरुवाको अवधि एक वर्ष हुने उल्लेख छ।

कार्यविधि लागु भएको दुई महिना नै नपुग्दै ६ महिनामै एआइजीतहको सरुवा निकाल्दा त्यसको प्रभाव सङ्गठनमा पर्ने भन्दै कुँवरले नियमित सरुवा गर्दा राम्रो हुने सुझाव दिएको स्रोतले बतायो।

गृहमन्त्री श्रेष्ठ पनि तत्काल एआइजीको सरुवाको पक्षमा नभए पनि प्रधानमन्त्रीले सरुवा गर्नैपर्ने भयो भनेपछि मौन रहे।

प्रधानमन्त्री प्रचण्डले एआइजी सरुवामा मुख्य रूपमा उपत्यका प्रहरी कार्यालयका श्याम ज्ञवाली, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका टेकबहादुर राई, प्रहरी प्रधान कार्यालयमा रहेका दीपक थापाको सरुवामा विशेष चासो राखेको स्रोतले बतायो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्यको सरुवाबारे समेत छलफल जारी छ। तर निर्णय भइसकेको छैन।

पछिल्लो समय नौ किलो सुन तस्करीमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोराको नाम प्रहरी प्रतिवेदनमा राखेकोमा प्रधानमन्त्री प्रचण्ड बज्राचार्यसँग रुष्ट छन्।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा नाम राखेको तर उनीहरूसँग सामान्य सोधपुछ समेत नगरेर सरकारले अगाडि बढाएको भ्रष्टाचार सम्बन्धी अभियानमा शङ्का बढाउने काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा समेत असन्तुष्टि जनाइसकेका छन्।

योबिचमा नक्कली चिकित्सक पक्राउमा समेत सिआइबीको कमजोरी देखियो। ललिता निवास जग्गा किर्तेको अनुसन्धान प्रक्रियाले पनि सत्ता गठबन्धन उनीसँग खुसी छैन।

'ज्ञवालीको सरुवा पक्का हो। तर बज्राचार्यको सरुवा रोकिन पनि सक्छ,' जानकार स्रोतले उकेरालाई भन्यो।

अपराध अनुसन्धान महाशाखामा एआइजी टेकबहादुर तामाङ छन्। कार्य विभागमा मिरा चौधरी, मानव स्रोतमा सन्दीप भण्डारी, प्रशासनमा दीपक थापा र प्रदेश समन्वयनमा सुदीप गिरी छन्।

यी एआइजीहरूको समेत सरुवा सूची बनेको स्रोतले बतायो। तर कसलाई कहाँ पठाउने पक्का भएको खुलेन।

उपत्यका प्रहरी कार्यालयमा दीपक थापाको सम्भावना बलियो देखियो। बज्राचार्यको सरुवा भए सिआइबीमा सन्दीप र सुदीपमध्ये एक जान सक्ने सम्भावना देखियो।

उता एसएसपीमध्ये काठमाडौँ परिसरमा भूपेन्द्र खत्रीको सम्भावना देखिन्छ भने उपत्यका अपराध अनुसन्धान कार्यालयका लागि सोमेन्द्र राठौर अगाडि देखिन्छन्।

भदौ १, २०८० शुक्रबार २२:०५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।