काठमाडौंमा बैंकिङ कसुरमा उजुरीको चाङ, अन्य अपराधको अनुसन्धानै प्रभावित

काठमाडौंमा बैंकिङ कसुरमा उजुरीको चाङ, अन्य अपराधको अनुसन्धानै प्रभावित

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंमा एकै महिनामा बैंकिङ कसुरका ५ सय ६० उजुरी दर्ता भएका छन्।

परिसरका एसपी कुमोध ढुंगेलका अनुसार साउन महिनामा मात्रै यति उजुरी आएका हुन्। बैंकिङ कसुरको आरोपमा २ सय १२ जना पक्राउ परेका छन्।

पछिल्लो समय प्रहरीमा चेक बाउन्सको उजुरीको संख्या बढ्दो क्रममा छ जसले अन्य अपराधको अनुसन्धान प्रभावित हुने गरेका छन्।

शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको विवरणमा साउनमा मात्र १ हजार २ सय ७५ जाहेरी आएका छन्। यसमा पहिलो नम्बरमा बैंकिङ कसुरका मुद्दा नै छन्।

दोस्रोमा अभद्र व्यवहारका २ सय ७९ मुद्दा दर्ता भएको प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।

साउनमा अनलाइन ठगी सम्बन्धी ६५ निवेदन दर्ता भएकामा दुई वटा मिलापत्र भइ बाँकी ६३ निवेदनमा अनुसन्धान भइरहेको छ।

उनले साउन महिनामा नै विभिन्न मुद्दामा २ सय ४० जनालाई पक्राउ गरिएको र कुल १८ करोड ८० लाख जरिवानाको फैसला भएको जानकारी दिए।

यहि महिनामा चोरी घटना ५५ वटा, ठगीका ३५, लागू औषधमा ३१, आत्महत्याका घटना ३७ र बलात्कारका ३३ जाहेरी दर्ता भए।

साइबर अपराध उस्तै
परिसरमा एक महिनामा साइबर अपराधबारे ६५ वटा जाहेरी दर्ता भए।

त्यसमा पार्सल तथा डलर पठाउने भन्दै रकम जम्मा गर्न लगाएर भएको ठगी धेरै देखिन्छ। यसबारे १२ वटा निवेदन दर्ता भएको थियो। ठगी रकम २१ लाख छ।

बैंक खातामा अनधिकृत पहुँच, सामाजिक सन्जालमा अनधिकृत पहुँच, रकम डबल बनाइने प्रलोभन, अनलाइन सामान विक्री लगायतका जाहेरी बढ्दो देखिन्छ।

भदौ १, २०८० शुक्रबार २०:५६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।