शल्यक्रियापछि कांग्रेस नेता भण्डारी डिस्चार्ज

शल्यक्रियापछि कांग्रेस नेता भण्डारी डिस्चार्ज

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन्।

उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि भण्डारीलाई डिस्चार्ज गरिएको जानकारी दिए।

‘शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ,’ उनले भने, ‘विस्तारै विस्तारै उहाँको स्वास्थ्यमा सुधार हुन्छ।’

बाहिर सङ्क्रमणबाट जोगाउनका लागि दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत नेता भण्डारीलाई भनिएको डा. नकर्मीले बताए। उनका अनुसार नेता भण्डारीको पुनः मङ्गलबार घाउको ड्रेसिङ गरिनेछ।

करिब छ महिनाअघि घरमा ग्यास लिक हुँदा आगलागीमा परी घाइते भएका भण्डारीको साउन ३१ गते छालाको प्रत्यारोपण गरिएको थियो।

‘जलनको कारणले घाउ भएपछि दाग परेर नेता भण्डारीको हातको मुठ्ठी पार्न गाह्रो भएको थियो,’ उनले भने, ‘दागहरू निकालेर छाला प्रत्यारोपण गरिएको हो।’

गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा. भण्डारीको सुरूमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो।

भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो।

भदौ १, २०८० शुक्रबार १९:३२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।