एमालेले विद्रोहीको पनि सदस्यता नवीकरण गर्ने

एमालेले विद्रोहीको पनि सदस्यता नवीकरण गर्ने

काठमाडौं : एमालेले निर्वाचनको बेला बागी वा विद्रोही भएर कारबाहीमा परेका पार्टी सदस्यहरूको सदस्यता नवीकरण गर्ने भएको छ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा आत्मालोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूका लागि अनुमति दिने निर्णय गरिएको उल्लेख छ।

निर्देशनमा भनिएको छ, ‘चुनावको बेला बागी/विद्रोही भई कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरुको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय गरिएको छ।’

यस्तै अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नहरूलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिइएको छ।

सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिएको जनाइएको छ।

त्यसैगरी, पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, पूर्व अध्यक्ष मनमोहन अधिकारी र पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्न निर्देशन दिइएको छ।

कार्यक्रमको मञ्च वक्ताले मात्र प्रयोग गर्नेगरी अतिथी र वक्ताहरूलाई दर्शकदीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसनग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्नसमेत निर्देशनमा उल्लेख गरिएको छ।

भदौ १, २०८० शुक्रबार १८:४२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।