रेक्चावासीलाई खानेपानी उपलब्ध गराउन उच्च अदालतको परमादेश

रेक्चावासीलाई खानेपानी उपलब्ध गराउन उच्च अदालतको परमादेश

सुर्खेत : उच्च अदालत सुर्खेतले वर्षौंदेखि खानेपानीको अभाव भोग्दै आएका चौकुने गाउँपालिका-५ रेक्चाका स्थानीयलाई खानेपानी उपलब्ध गराउन परमादेश जारी गरेको छ।

उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्यन्यायाधीश माधवप्रसाद पोखरेल र न्यायाधीश पुनम सिंह चन्दको संयुक्त इजलासले परमादेश जारी गरेको उच्च अदालत सुर्खेतका रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

‘अदालतले चौकुने गाउँपालिकालाई कर्तव्य निर्वहन गर्न दत्तचित्त भएर लाग्न र अन्य विपक्षी कार्यालयलाई कर्तव्य निर्वाह गर्न परमादेश जारी गरेको छ,’ रजिष्ट्रार कोइरालाले भने, ‘परमादेशको पूर्णपाठ केही दिनमा आउनेछ।’

उनका अनुसार उल्लेखित विषयको बहसमा समस्या रहेको र सम्बन्धित निकाय पनि प्रयासरत भएको भन्ने कुरामा सहमत भएको हुँदा त्यसको दीर्घकालीन रूपमा समाधान गर्न विपक्षीलाई आदेश गरिएको छ।

वर्षौंदेखि खानेपानीको अभाव भोग्दै आएका रेक्चाका स्थानीयको तर्फबाट बैशाख २७ गते दैनिक पानी पुर्याउने बन्दोबस्तको माग गर्दै अधिवक्ता प्रकाशबाबु ऐडी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र चौकुने गाउँपालिकाविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।

निवेदकद्वयले रेक्चाका नागरिकहरू न्यूनतम मानवीय आवश्यकताभित्र पर्ने स्वच्छ खानेपानीका लागि प्रताडित भइरहेको बताउँदै रेक्चाका ९० घरधूरीलाई तत्कालन खानेपानी उपलब्ध गराउन अन्तरिम आदेश माग गरेका थिए।

वैशाख २८ गते अदालतले रेक्चाका स्थानीयका लागि दैनिक न्यूनतम खानेपानी आपूर्ति गर्न के कस्तो प्रबन्ध गर्न सकिन्छ? सो को विवरण प्राविधिकसमेतको सहयोगमा तयार गरी लिखित जवाफ साथ प्रतिवेदन पठाउन चौकुने गाउँपालिकालाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

खडेरी लागेसँगै रेक्चाका स्थानीयलाई पानीको समस्या पर्ने गरेको छ। १२ महिना मध्ये असार, साउन र भदौ गरी यी तीन महिनामा मात्र त्यहाँका नागरिकहरूले पर्याप्त पानी पिउन पाउने गर्छन्।

खडेरीमा त गाउँलेहरूले कुवामा चौकीदार राखेरै प्रतिघर दुई गाग्रीका दरले  पानी वितरण गर्ने गरेका छन्। त्यहाँ मात्रै होइन्, चौकुनेका रेक्चा, पुच्मा, नाउली र धनरास लगायतका पहाडी ठाउँहरूका स्थानीयहरू पनि पानीको अभावमा जीविका चलाइरहेका छन्।

भदौ १, २०८० शुक्रबार १८:२३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।