मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता : मन्त्री शर्मा

मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता : मन्त्री शर्मा

प्युठान : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताएकी छन्।

माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएकी मन्त्री शर्माले प्युठानमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै सरकार सामान्तवादका बाँकी अवशेष अन्त्य गर्दै समाजवाद निर्माणको आधार तयार पार्ने काममा रहेको बताइन्।

‘जनयुद्धका कारण नेपालमा सारभूत रूपमा सामन्तवादको अन्त्य भयो तर अहिले पनि कतिपय क्षेत्रमा सामन्तवादका अवशेष बाँकी रहेका छन्, तीमध्ये मिटरब्याज पनि एउटा थियो, जो हामीले अहिले परास्त गरेका छौँ,’ उनले भनिन्, ‘जनयुद्धको बेलामा समेत परास्त हुन नसकेको मिटरब्याजीको जालो तोड्नुलाई वर्तमान सरकारको ठूलो सफलता हो।’

मन्त्री शर्माले सुशासनको पक्षमा सरकार दृढताका साथ प्रस्तुत भइरहेको उल्लेख गर्दै भ्रष्टाचारको विरुद्ध निर्मम बनेको बताइन्। सरकारको नेतृत्व गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल मन्त्र बनाएर अघि बढेको भन्दै उनले सेवाप्रवाहलाई सहज बनाउँदै लगेको दाबी गरिन्।

‘यसले गर्दा जनताबाट ब्यापक रूपमा समर्थन प्राप्त भइरहेको छ, तपाईं जनतासँगै जोडिएका कार्यकर्ताहरूले सरकारले गरेका कामलाई थप स्थापित गर्न आवश्यक छ,’ उनले अगाडि थपिन्, ‘जनस्तरमा रहेका नेता कार्यकर्ताले सरकारका काम जनताबीच लैजाने र जनताका आवश्यकता सरकारसम्म प्रभावकारी रूपमा पुर्याउन सके सुशासन र समृद्धिको गति अझ तीव्र रूपमा अघि बढ्नेछ।’

भ्रष्टाचार र अनियमितताको अन्त्य नभएसम्म निष्ठाको राजनीति गर्नेहरू निरीह र कमजोर बन्नुपर्ने भन्दै मन्त्री शर्माले उल्टै यसले केही गर्न सकेन भन्ने बुझाय स्थापित हुने र भड्किलोपनलाई शक्तिशाली देख्ने प्रवृत्ति स्थापित हुने बताइन्।

जिम्मेवारीमा रहेका व्यक्तिले इमानपूर्वक जनताको सेवा गर्नुपर्छ भन्ने सन्देश पनि वर्तमान सरकारले स्थापित गर्न खोजेको उनको भनाइ छ।

भदौ १, २०८० शुक्रबार १८:१०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।