कांग्रेस पूर्व केन्द्रीय सदस्य न्यौपानेको निधन, तीन दिन पार्टीको झण्डा आधा झुकाइने

कांग्रेस पूर्व केन्द्रीय सदस्य न्यौपानेको निधन, तीन दिन पार्टीको झण्डा आधा झुकाइने

काठमाडौं : नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य तथा वरिष्ठ अधिवक्ता हरिप्रसाद न्यौपानेको निधन भएको छ। ७२ वर्षको उमेरमा शुक्रबार बिहान ७ बजे काठमाडौँको मध्यवानेश्वरस्थित आफ्नै निवासमा न्यौपानेको निधन भएको हो। 

न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ। उनको निधनबाट कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको  र अपूरणीय क्षति भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

न्यौपानेप्रति सम्मानमा कांग्रेसले शोक कार्यक्रम राखेको छ । कांग्रेसले भदौ १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने छ।

भदौ ३ गते आइतबारका दिन केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द हुने छ भने १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने छ।

न्यौपानको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। “कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधनको खबरले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ, उहाँको निधनले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलन क्षति पुगेको छ”, सभापति देउवाले भने।

सभापति देउवाले न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।

उनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको छ । उनको श्रीमती र दुई छोरा छन्।

भदौ १, २०८० शुक्रबार १६:५०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।