‘एक भगवत् गीता’को एक साथ तीन पोस्टर रिलिज, ट्रान्सजेन्डर महिलाको भूमिकामा विपिन
काठमाडौं : भदौ २९ गतेबाट रिलिज तयारीमा रहेको फिल्म ‘एक भगवत् गीता’को एक साथ तीन पोस्टर सार्वजनिक भएको छ।
शुक्रबार निर्माण पक्षले ३ वटा फरक पोष्टर सार्वजनिक गर्दै प्रचार प्रसारलाई तीव्रता दिएको हो।
सार्वजनिक भएको फिल्मको ३ फरक पोष्टरमध्ये एउटा पोष्टरमा अभिनेता विपिन कार्कीलाई ट्रान्सजेन्डर महिलाको भूमिकामा प्रस्तुत गरिएको छ।
दोस्रो पोष्टरमा सुहाना थापा र बाल कलाकारलाई खेलिरहेको मुडमा देख्न सकिन्छ भने तेस्रोमा सुहाना र अभिनेता धिरज मगर रोमान्टिक देखिएका छन्। जसले सुहाना र धिरज प्रेमिप्रेमिका रहेको आभास दिलाउँछ।
झरना थापाको निर्देशित फिल्ममा विपिन, सुहाना र धिरजका अलवा कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर, धिरज ठाकुरलगायतको अभिनय छ।
सुनिलकुमार थापाको निर्माण रहेको फिल्मको कथा निर्देशक झरना आफैँले लेखेकी हुन्। झरनासँगै यस फिल्ममा सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्ममा परिक्षेद र पुरुषोत्तमको संवाद छ।
यसअघि यो फिल्मको नाम ‘भगवत् गीता’मात्रै रहेको थियो। पछि झरनाले आफूलाई ‘ए’ शब्द फापेको हुनाले ‘एक’ थपिएको बताएकी थिइन्। निर्माण टिमले फिल्म बन्नु अघिसम्म ‘एक’ राखेको थिएन। फिल्मको ट्रेलर सार्वजनिक गर्दै करिव एक महिनाअघि ‘भगवत् गीता’को अगाडि एक थपेको हो।
यसअघि झरनालाई ‘ए’ शब्द फापेको छ। उनी निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल भएका थिए। राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व छ।
भदौ १, २०८० शुक्रबार १६:४२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।