विधानबाट उमेर हद हटाएर जसपाले तोक्यो कार्यकालको सीमा

विधानबाट उमेर हद हटाएर जसपाले तोक्यो कार्यकालको सीमा

काठमाडौं : जनता समाजवादी पार्टी ( जसपा) नेपालले पार्टीको विधानबाट उमेर हदको प्रावधान हटाएर कार्यकालको प्रावधान तोकेको छ।

विधान अधिवेशनबाट जसपाले पार्टी केन्द्रीय सदस्यको उमेर हद ७० तय गरेको थियो। विधानको धारा–८६ को उपधारा (१) मा ७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिको पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनीत हुन पाउने छैन भन्ने उल्लेख थियो।

साउन २५ गते निर्वाचन आयोगले अभिलेखन गरिएपछि कार्यान्वयनमा आएको सो विधानमा धारा ८६ को उपधारा (१) लाई हटाइएको छ। विधानमा यसअघि राखिएको कार्यकाललाई कायमै राखिएको छ । एउटै पदमा लगातार दुई कार्यकाल उम्मेदवार हुन नपाउने प्रावधान कायम राखिएको हो।

धारा ८६ मा पार्टीको निर्वाचित जिल्ला समिति, प्रदेश, राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य पूरा गरिसकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन पाउने छैन भन्ने उल्लेख छ। 

उमेर हद कायम रहेको भए पार्टीका अध्यक्ष उपेन्द्र यादव सात वर्षपछि पार्टीबाट अवकाश लिनुपर्ने थियो। अध्यक्ष यादव ६३ वर्षका छन्। विधानमा ७० वर्षपछि पार्टीको केन्द्रीय समितिका लागि योग्य नहुने प्रस्ताव गरिएको थियो।

उमेर हद राख्दा युवाहरु उत्साहित भएका थिए। तीन दिनसम्म चलेको विधान अधिवेशनमा ७० वर्षे उमेर हदको बारेमा व्यापक छलफल भएको थियो। सो छलफलमा अधिकांशले उमेर हदलाई समर्थन गरेका थिए भने केहीले यसको विपक्षमा धारणा राखेका थिए।

एउटै पदमा लगातार दुई कार्यकाल उम्मेदवार हुन नपाउने प्रावधान विधानमा कायम छ। यो विधान अनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादव अब दुई कार्यकाल मात्र अध्यक्ष रहनेछन्।

प्रत्येक पाँच वर्षमा महाधिवेशन हुने तोकिएको छ। महाधिवेशनको मिति भने तय भैसकेको छैन।

भदौ १, २०८० शुक्रबार १५:३०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।