कोशीका मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिने

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रस्ताव उनले शुक्रबार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेको गठबन्धनका एक नेताले जानकारी दिए।

यहि साउन १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ। ९३ सदस्यीय रहेको प्रदेशसभामा ४७ सांसदको समर्थन प्राप्त गरी उनी मुख्यमन्त्री नियुक्त भएका थिए।

एमाले नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि थापा पहिलोपटक असार २१ गते कोशीको मुख्यमन्त्री बनेका थिए।

थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतम सहित ४७ सदस्यको समर्थन पाएका थिए। उनको विपक्षमा एमालेका ३९ र राप्रपाका ६ जना सांसद छन्।

भदौ १, २०८० शुक्रबार १४:०९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।