हाइटीमा झडप हुँदा  प्रहरी अधिकारीसहित ३० जना मारिए

हाइटीमा झडप हुँदा  प्रहरी अधिकारीसहित ३० जना मारिए
तस्वीर– रोयटर्स

एजेन्सी : मानवीय, राजनीतिक र सुरक्षा सङ्कटले नराम्रोसँग थिचिएको क्यारिबियन मुलुक हाइटीमा दुई आपराधिक समूहबीच भएको झडपमा दुई जना प्रहरीसहित ३० जना मारिएका छन्। आक्रमणमा दर्जन बढी घाइते भएका छन्।

स्थानीय मानव अधिकार समूह नेशनल ह्युमन राइट्स डिफेन्स नेटवर्कका अनुसार राजधानी शहरको क्यारेफोर–फ्युइलेस र आसपासका क्षेत्रमा आक्रमणसँगै आगो लगाउँदा र दुई प्रहरी अधिकारीको पनि मृत्यु भएको छ।

उक्त क्षेत्र आपराधिक समूहको नियन्त्रण रहेको बताइन्छ। फिरौतीको लागि अपहरण, बलात्कार र सशस्त्र चोरी, मोटरमालिक वा चालकलाई धम्क्याएर गाडीको चोरी तथा हिंसात्मक अपराध यहाँ सामान्य मानिन्छन् ।

दुई समूहबीच भएको झडपका क्रममा आफ्नो घरमा आक्रमण हुँदा पोर्टऔप्रिन्स निवासी डोमिनिक चाल्र्सले आफ्नी आमा, सौतेनी बुबा, १८ वर्षीय छोरा, दुई बहिनी र एक जना भाइ गुमाएको बताइन्। आफू भने भागेर बाँच्न सफल भएको उनले जनाइन्।

पछिल्ला दिनमा यहाँ हिंसाका घटना बढेपछि पाँच हजार बासिन्दा पलायन भएका छन् ।विस्थापित मध्ये केहीले विद्यालय वा स्थानीय खेलकुद केन्द्रमा शरण लिएका छन् भने अन्य विस्थापित सडकमा नै गुजारा गरिरहेका छन्।

उनीहरूलाई सरकारी अधिकारीहरूले खाना र पानीको व्यवस्था गरेका छन्।

भदौ १, २०८० शुक्रबार १३:३८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।