विकासका काममा राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह

विकासका काममा राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आजको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन्।

उनले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुन जरुरी भएको बताएका हुन्।

प्रज्ञा भवन कमलादीमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले उपयुक्त नीति र कार्ययोजना सहित आन्तरिक विद्युत माग बृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुल्हो आदिको प्रयोगमा प्रोत्साहन गरेको बताए।

साथै उनले बढी विद्युत खपत गर्ने उद्योग कलकारखानाको स्थापना र सञ्चालनमा उपयुक्त वातावरण निर्माण गर्न र विद्युतको अधिकतम उपयोगलाई राष्ट्रिय अर्थतन्त्र र समृद्धिको मजबुत आधारका रूपमा आत्मसात गरी अघि बढ्न सम्बन्धित सबै मन्त्रालय र निकायहरूको आपसी समन्वयमा जोड दिएको औंल्याए। 

उनले स्वदेशमा उत्पादित जलविद्युतलाई आन्तरिक माग पूरा गरी अन्तरदेशीय बजारको पहुँच दिलाउन भारत, बंगलादेश र चीन सरकारसँग भइरहेका प्रयासहरुबारे जानकारी दिँदै नेपालमा जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिएको प्रष्ट पारे। 

उनले खोला नाला बगिरहने तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने बिडम्वनापूर्ण अवस्थाको अन्त्य गर्न योजनावद्ध रूपमा काम गरिरहेको जनाउँदै अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेको बताए। 

भदौ १, २०८० शुक्रबार १२:५४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।