७ सय बंगलादेशी पर्यटक नेपाल आउँदै, विमानस्थलमा भव्य स्वागत गरिने

७ सय बंगलादेशी पर्यटक नेपाल आउँदै, विमानस्थलमा भव्य स्वागत गरिने
फाईल फोटो

काठमाडौं : बङ्गलादेशबाट सात सय बङ्गलादेशी पर्यटक नेपाल आउने भएका छन्। उनीहरु दुई जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन्। 

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पहिलो लटमा आउने पर्यटक शुक्रबार बिहान साढे ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन्।

यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित भव्य स्वागत गर्ने कार्यक्रम रहेको बोर्डका निर्देशक लामिछानेले बताए। 

नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ। उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो। 

राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका बताइएको छ। यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे। एउटै कम्पनीमार्फत ठूलो समूहमा बङ्गलादेशी पर्यटक भित्रन लागेको यो पहिलो पटक हो।

नेपालबाट नजिक दूरीमा रहेको बङ्गलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो। ठूलो सङ्ख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचारप्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे।

भदौ १, २०८० शुक्रबार ११:०१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।