न्युजिल्यान्डसँग १५५ रनमा रोक्न सफल यूएईको सम्मानजनक हार
एजेन्सी : एसोसियट राष्ट्र यूएईले क्रिकेटको बलियो टिम न्युजिल्यान्डसँग निकै प्रतिस्पर्धात्मक खेल देखाएको छ।
पहिलो टी-२० खेलमा न्युजिल्यान्डलाई १५५ रनमा रोक्न सफल भएको यूएईले १९ रनको सम्मानजनक हार भोग्यो। यो जितसँगै पाहुना टोली न्युजिल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनमा समेटिएको थियो।
खेलको पहिलो बलमै न्युजिल्यान्डका ओपनर चाद बोवेस आउट भएका थिए। यसपछि अर्का ओपनर टिम साइफर्टले ३४ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए।
यूएईको कसिलो बलिङ अगाडि कुनैबेला न्युजिल्यान्ड ८५ रनमा ५ विकेट गुमाएर खराब अवस्थामा पुगिसकेको थियो।
यसपछि जितको लागि १५६ रनको लक्ष्य पछ्याएको यूएई १९.३ ओभरमा १३६ रनमा अल आउट भयो। यूएईको लागि आर्यांश शर्माले ४३ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए।
तर शर्मा बाहेक अन्य ब्याटर चल्न नसक्दा यूएईले खेल जित्न सकेन।
भदौ १, २०८० शुक्रबार ०८:२९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।