अर्काको फेसबुक अकाउन्ट ह्याक गरेर पैसा मागेको आरोपमा पाँच जना पक्राउ, २२ जना पीडित, १४ लाख कारोबार

अर्काको फेसबुक अकाउन्ट ह्याक गरेर पैसा मागेको आरोपमा पाँच जना पक्राउ, २२ जना पीडित, १४ लाख कारोबार

काठमाडौँ : विभिन्न व्यक्तिहरूको फेसबुक अकाउन्ट ह्याक गरेर मेसेन्जर मार्फत परिचितसँग रकम माग गरेर ठगी गरेको आरोपमा गिरोह नै पक्राउ परेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार  आफ्नो फेसबुक अकाउन्ट ह्याक गरेर फ्रेन्ड लिस्टमा रहेकाहरूसँग पैसा मागेको भन्दै कार्यालयमा उजुरी आएपछि सुरु भएको अनुसन्धानमा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीले बाराका सीमान्त लामालाई पक्राउ गरेको छ। उनी अर्काको फेसबुक अकाउन्ट ह्याक गर्ने गरेको प्रहरीको दाबी छ। रकम माग्ने बाराका अमन्त लामा, वालेटमा आएको पैसा झिक्ने कास्कीका सुब्बु भन्ने शुभेच्छा गुरुङ, बाराका अनुप श्रेष्ठ र सिमकार्ड दिने रोहन तामाङलाई पक्राउ गरेको हो।

प्रहरीले फेसबुक अकाउन्ट ह्याक गर्नेदेखि लिएर पैसा उठाउनेसम्मलाई पक्राउ गरेको दाबी गरेको छ। उनीहरू काठमाडौँ महानगरपालिका बसपार्कमा रहेको रेसुङ्गा बुटवल गेस्ट हाउसबाट पक्राउ परेका हुन्।

उनीहरू गेस्ट हाउसमा कोठाहरू भाडामा लिएर बसेका थिए। अनुसन्धानकोक्रममा उनीहरूले म्यासेन्जरमा विभिन्न व्यक्तिको फेसबुक ह्याक गरेर निजका साथीहरूलाई मेसेन्जरबाट म्यासेज गरेर इसेवा र खल्ती जस्ता वालेटहरूमा पैसा हाल्न लगाई ठगी गर्ने गरेको देखिएको प्रहरीले बताएको छ।

कार्यालयका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले ३० वटा फेसबुक आइडी ह्याक गरेर चौध लाख रकम लिएको विवरण फेला परेको छ। उनीहरूले विभिन्न व्यक्तिको १२ वटा जिमेल आइडी प्रयोग गरेको, विभिन्न बहानामा ओटिपी कोड माग्ने गरेको प्रहरीको दाबी छ। उनीहरूबारे २२ जनाले उजुरी दिएका छन्।

प्रहरीले उनीहरूको साथबाट ल्यापटप, मोबाइल लगायतका सामाग्री बरामद गरेको छ।

साउन ३२, २०८० बिहीबार २०:५२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।