इन्डोनेसियाको ७८औं स्वतन्त्रता दिवसमा काठमाडौंमा झन्डोत्तोलन

इन्डोनेसियाको ७८औं स्वतन्त्रता दिवसमा काठमाडौंमा झन्डोत्तोलन

काठमाडौं : गणतन्त्र इन्डोनेसियाको ७८औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झन्डोत्तोलन कार्यक्रम गरिएको छ।

नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय पानीपोखरीमा एक विशेष समारोहबीच झन्डोत्तोलन गरिएको हो।

दिवसका अवसरमा शुभकामना सन्देश दिँदै नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्याउन आफूले प्रयास गरिरहेको बताए।

उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिनसक्ने प्रशस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्ने कुरामा जोड दिए।

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालका लागि इन्डोनेसियाको राजदूतको  आवासीय कार्यालय बङ्गलादेशको राजधानी ढाकामा छ।

इन्डोनेसिया आसियान राष्ट्रहरूमध्येको ठूलो अर्थतन्त्र भएको मुलुक हो। नेपाल र इन्डोनेसियाबीचको व्यापारको परिमाण पनि ठूलो छ। दुई देशबीच पर्यटनलगायत आयात निर्यात व्यापारका क्षेत्रमा थुप्रै सम्भावनाहरू छन्।

झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

साउन ३२, २०८० बिहीबार १८:४२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।