भेषभुषा डिजाइनर कमलप्रसादका हिजोका कुरा : रक्सी खान्न भन्दा फिल्ममा काम पाँइदैनथ्यो

भेषभुषा डिजाइनर कमलप्रसादका हिजोका कुरा : रक्सी खान्न भन्दा फिल्ममा काम पाँइदैनथ्यो

ताप्लेजुङको डाँडागाउँमा २०१८ सालमा जन्मिएका हुन् कमल प्रसाद मिश्र। बुवा भारतीय लाहुरे भएकाले जन्मिएको केही महिनामा उनी पनि भारतको मणिपुर पुगे। बाल्यकाल भारतमै बित्यो।

त्यहिँ बुवाआमाको निधन भएपछि उनी काइला दाइसँगै नेपाल फर्किए। पाँच भाइमध्ये तीन भाइ भारतै बसे। काठमाडौं आएपछि पान पसल खोले।

पान पसलमा त्यो बेलाका चर्चित द्वन्द्व निर्देशक गोपाल भुटानी आइरहन्थे। त्यहि क्रममा उनले फिल्ममा काम गर्न प्रस्ताव राखे। उनले पनि हुन्छ भनेँ। गोपालकै कारण फिल्म क्षेत्रमा प्रवेश गरेका कमलले आफ्ना तीतामीठा अनुभव उकेरासँग यसरी साटे।

बाल्यकाल
परिवारमा बुवा, काका लगायत सबै भारतीय लाहुरे भएपछि कमल र उनका दाजुहरूको पढाइ र बढाइ सबै उतैतिर भयो। नेपालमा उनलाई आफू जन्मेको ठाउँ ठ्याक्कै थाहा छैन। पाँच दाजुभाइमध्ये उनी कान्छा हुन्।

‘मेरो जन्म ताप्लेजुङमा भए पनि बाल्यकाल भने भारतको मणिपुरमै बित्यो,’ उनले विगतका कुरा सम्झँदै भने, ‘बुवा भारतीय लाहुरे भएकाले जन्मिएको केही समयपछि नै मलाई उतै लैजानुभएको रे। परिवार नै भारतमा भएकाले मेरो पढाइ पनि उतै भयो।’

कमलले म्याट्रिक पास गरे अनि पढ्न थाले प्रि युनिभर्सिटी कोर्ष अर्थात् पीयूसी। पढ्न त थाले तर पूरा गर्न सकेनन्।

‘मैले त्यहाँको म्याट्रिक पास गरेपछि पीयूसीमा भर्ना भएँ। तर, मेरो पढाइ अलिक कमजोर भएको हुनाले पास गर्न सकिनँ। बुबा आमा पनि उतै बित्नुभयो। त्यसपछि ३६ सालमा मेरो तीन दाजुहरू छोडेर काइला दाजुसँग नेपाल फर्किएँ। अरु उतै बस्नुभयो।’

नेपाल फर्किएपछि कमल र उनका दाजुले सुनसरीको इटहरी बजारमा चार कठ्ठा जमिन लिएर बस्न थाले। ३६ सालतिर इटहरी बजार धुलाम्मे भएको उनी स्मरण गर्छन्।

‘घर पनि बाँसका भाटाले बारेका हुन्थ्ये। त्यो समयमा नै इटहरीमै ३० हजार रुपैयाँ कठ्ठा जग्गा पथ्र्यो’, उनले थपे।

चार वर्ष इटहरी बसेपछि उनलाई काठमाडौं आउने हुटहुटी चल्यो। चल्यो त चल्यो। मन थामिएन अनि एउटा गाडी समाते र हानिए काठमाडौं।

‘काठमाडौं आउने हुटहुटी चलेपछि म काठमाडौं आएँ,’ उनले थपे, ‘त्यहाँ दाजुभाउजु बस्दै आउनुभएको थियो। अहिले त दाजु हुनुहुन्न भाउजु मात्रै हुनुहुन्छ।’

स्वयम्भूमा पान पसल
भारतमा कमलले पान र चिया बनाउन मज्जैसँग सिकेका थिए। सोही सीपलाई काठमाडौंमा प्रयोग गर्ने सोचे अनि २०४० सालमा स्वयम्भूमा एउटा घुम्तीको टहरामा पान र चिया पसल खोले।

‘म काठमाडौं आउँदा मेरो साथमा केहि पनि थिएन। जानेको एउटा चिया बनाउन र पान बनाउन थियो। त्यसैलाई मैले व्यवसायिक रूपमा अँगाले,’ उनले अगाडि भने, ‘मैले पान पसल खोलेको समयमा द्वन्द्व निर्देशक गोपाल भुटानी मेरो पसलमा पान खान र चिया पिउन आउनुहुन्थ्यो। उहाँसँग चिनजान राम्रै हुन थालेको थियो।’

उनका अनुसार गोपाल भुटानी पनि भारतबाट नै आएका हुनाले दुवै जना हिन्दी भाषामा नै बात मार्दै बिहानको समय कटाउँथे। गोपाल भुटानीलाई त्यो समय नेपाली भाषा बोल्न नआउने उनको भनाइ छ।

गोपाल भुटानीले फिल्म लाइनमा हिँड भने
एक दिन कमल आफ्नो पसलमा बसिरहेका थिए। गोपाल दैनिकजसो बिहानै पसलमा आए हिन्दी भाषामै भने, ‘हे बाहुन चाय बनाओ!’

कमलले पनि हिन्दीमै फर्काए, ‘हाँ जी।’

त्यसपछि गोपालले उनलाई फिल्ममा काम गर्छौ भनेर सोधे। कमललाई पनि ढुंगा खोज्दा देउता मिले झैँ भयो। सोच्दै नसोची हुन्छ भन्दिए।

उनले भने, ‘उहाँ(गोपाल)ले फिल्ममा काम गर्छौ भनेर सोध्नुभयो। मैले एकै पटकमा हुन्छ भनेर जवाफ फर्काए। मैले हिन्दी फिल्म हेर्दै आएको थिएँ। नेपाली फिल्ममा कामको प्रस्ताव अएपछि हुँदैन भन्ने कुरै भएन।’

कमलका अनुसार गोपालले उनलाई सेट डिजाइन गर्न अह्राए, नआए पनि गोपालकै निर्देशनअनुसार उनले काम सिक्दै गए।

‘मलाई डिजाइन केहि पनि आउँदैन थियो। गोपाल भुटानी गुरुले जहाँ–जहाँ किला ठोक भन्नुहुन्थ्यो मैले त्यहाँ–त्यहाँ ठोक्थेँ। कहिले चुना लगाउने, पोत्ने भन्नुहुन्थ्यो, मैले सोहीअनुसार काम गर्दै गएँ,’ उनले सम्झिए, ‘यो समयसम्म मैले पान पसल छोडेको थिइनँ।’

कमलको पहिलो सेट डिजाइन गरेको फिल्म ‘अन्याय’ हो। पहिलो पटक आँखा सामुन्ने नेपाली फिल्ममा निर्माता तथा अभिनेता विश्व बस्नेत, अभिनेत्री मिरा माधुरी, निर्देशक तुलसी घिमिरेलाई उनले भेटेका थिए।

पहिलो पटक कलाकारलाई भेट्दाका क्षण अहिले पनि उनी झलझल्ती सम्झन्छन् उनी।

भन्छन्, ‘त्यो समयमा स्वर्ग पुगेको जस्तै फिल भयो। त्यसपछि मैले पान पसल छाडेर फिल्मतिर नै लाग्न थाले। म पनि अविवाहित भएको हुनाले गोपाल भुटानी गुरुसँगै थापाथलीमा बस्न थालेँ।’

दिनको ३० रूपैयाँ पारिश्रमिक निर्धारण गरेर फिल्ममा काम गर्न थालेका हुन् कमलले, त्यो पनि  दैनिक हजार रुपैयाँ कमाइ हुने पसल बन्द गरेर।

उनका अनुसार गोपाल भुटानीको एउटा फिल्मको पारिश्रमिक त्यो बेलामा १२ सयदेखि १५ सयसम्म हुन्थ्यो। कतिपय फिल्म निर्माताले यति पैसा पनि दिँदैन थिए। कति फिल्मका निर्माताले काम गरे बापतको पैसा दिन्छु भनेर नदिएको अवस्था थियो।

उनी भन्छन्, ‘गोपाल भुटानी गुरुले कति फिल्मको त पैसा नै पाउनुभएन। उहाँले कामको पारिश्रमिक नपाएको क्षण म झलझली अहिले पनि सम्झन्छु।’

सुरुवातको समयमा उनी आर्टको काम गर्न फिल्ममा प्रवेश गरेका थिए। पछि उनलाई यो पेशाभन्दा पनि भेषभुषामा काम गर्ने मनसाय बनाए। फिल्म ‘मुक्तिदाता’बाट उनले भेषभुषा डिजाइनर बने। अर्का भेषभेषा डिजाइनर जुंगे भट्टराईसँग उनले यसबारे धेरै काम सिके।

रक्सी खान्न भन्दा फिल्ममा काम पाइँदैनथ्यो
आफूले काम गर्दा फिल्ममा काम गर्नका लागि रक्सी खान्छु भन्नुपर्ने बाध्यता भएको उनी बताउँछन्। यद्यपि कतिपयलाई भने खान्न भनेपछि मात्रै पाइन्थ्यो रे।

‘मैले फिल्ममा काम गर्दादेखि नै रक्सी पिउँथेँ। फिल्ममा काम गर्दा कतिपय निर्देशक, निर्मातालाई पिउँछु भन्नुपर्थ्यो भने कतिपयलाई पिउँदिनँ। नत्र काम नै दिदैँनथे’, उनले भने।

जयनन्द लामाको फिल्ममा उनलाई झन्डै फिल्ममा काम नदिएको अवस्था रहेको उनको अनुभव छ।

‘जयनन्द लामा त्यो बेलामा एकदम नाम चलेका कलाकार तथा निर्देशक हुनुहुन्थ्यो। उहाँले ‘यर्थाथ’ भन्ने फिल्म बनाउन लाग्नुभएको थियो। त्यसमा भेषभेषा डिजाइनका लागि मलाई बोलाउनुभयो,’ उनले भने, ‘रक्सी खाइन्छ कि खाँइदैन भनेर सोध्नुभयो। खाने गरेको भए पनि मैले खान्न भनेँ। उहाँले के रे? भन्नुभयो। म अकमकिएँ। अनि अर्को साथीले पछाडिबाट खान्छु भन्नु भन्यो। मैले हतार–हतार काम सकिएपछि खान्छु भनेँ। त्यसपछि उहाँले धाप मार्दै गुड। हामीलाई यस्तै मान्छे चाहिएको हो भन्नुभयो।’

यहि फिल्ममा अर्का भान्सामा काम गर्ने राम लामाले रक्सी पिउँदिन भनेकै भरमा काम नपाएको कमल बताउँछन्।

फिल्मकै कारण दाहिने आँखा गुम्यो
कमल दाहिने आँखा देख्दैनन्। फिल्ममै काम गर्दा आँखा गुमेको उनी बताउँछन्।

‘मेरो दाइना आँखा गयो, यो मेरो फिल्म क्षेत्रमा लागेरै आँखा गएको हो,’ उनले दाइना आँखा छाम्दै भने, ‘काम गर्दा गर्दै टाइफाइड भयो। टाइफाइड बिग्रिएपछि मेरो आँखामा असर पर्यो। अनि नेपालमा अधिकांश आँखा हस्पिटलमा उपचारका लागि दौडिए तर, भएन।’

उनले अगाडि थपे, ‘मेरो घाँटीमा क्यान्सर भएको कारण बोल्दा बोल्दै बोली हराउँछ। क्यान्सर भएपछि मेरो कपाल, दाह्री सबै झरेको थियोे। अहिले अलिक सुधार भएको छ।’

उनले पछिल्लो समय फिल्म ‘आँधी तुफान २’मा भेषभुषा डिजाइन गरेका थिए।

साउन ३२, २०८० बिहीबार १८:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।