रास्वपा सरकारको नेतृत्वमा पुगे औँलाले गन्न सकिने बाहेकका नेताहरू जेलको छिँडीमा सड्नेछन् : रवि लामिछाने

रास्वपा सरकारको नेतृत्वमा पुगे औँलाले गन्न सकिने बाहेकका नेताहरू जेलको छिँडीमा सड्नेछन्  : रवि लामिछाने
फाईल फोटो

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको निष्पक्ष  छानबिन गर्ने तागत आफ्नो पार्टीसँग मात्र भएको दावी गरेका छन्।

उनले रास्वपाले सरकारको नेतृत्व गरेको दिन औँलाले गन्न सकिने बाहेकका नेताहरू जेलको छिँडीमा सड्ने चेतावनी दिए। 

इलामको फिक्कल चोक बजारमा आयोजित पार्टीको खुला जनसभालाई सम्बोधन गर्दै उनले भने‚ ’यदि रास्वपा सरकारको नेतृत्वमा पुग्यो भने देशको एयरपोर्टबाट भित्रिएका क्विन्टलका क्विन्टल सुन काण्ड, ललिता निवास प्रकरण जस्ता अनेक कान्डको छानबिन गर्नेछ र देशमा औँलामा गन्न सकिनेबाहेक नेता जेलको छिँडीमा सड्नेछन्।’ 

उनले २०८४ सालमा हुने आम निर्वाचनमा इलामका जनताले रास्वपाका उम्मेदवारलाई जिताएर परिवर्तनको घण्टी बजाउनुपर्ने बताए। जनजीविकाका पक्षमा काम गर्न आएकाले एकपटक अवसर दिएर परीक्षा लिनसमेत उनले आग्रह गरे। 

‘काम गर्न सकेनौँ भने यो क्षेत्र घण्टी निषेधित बनोस्। वर्षौंदेखि जितेका नेताले इलाममा के परिवर्तन गरे ?‚’ भन्ने प्रश्न गर्दै उनले भने‚ ‘तपाईंहरुलाई उपेक्षा गरिएको छ। इलाममा अथाह सम्भावना हुँदाहुँदै यहाँका पर्यटन, कृषि, उद्योग, शिक्षा, सडक हरेक क्षेत्रको विकास हुन सकेको छैन।’ 

कांग्रेस, एमाले र माओवादीहरुले गर्नसक्ने जति गरिसकेको लामिछानेको दावी छ। ‘उनीहरुको क्षमता यति नै हो केही गर्न सक्दैनन्।’ 

चर्को आवाजमा चोटिलो भाषण गर्न खप्पिस लामिछानेले छोटो मन्तव्यमा आगामी निर्वाचनका लागि मिठो शैलीमा भोट मागे।

‘आजभोलि नै चुनाव आउँदैन तर  हेर्दाहेर्दै चुनाव आउँछ। त्यो बेला यहाँका पुराना नेताहरू भोट माग्न आउनेछन्। तपाईंहरु विकसित देशका जनताले जस्तै शान्त विद्रोह गरेर रास्वपाको चुनाव चिह्नमा भोट हाल्नुहोला।’ सूर्योदय नगर समितिले आयोजना गरेको खुला जनसभामा पार्टी सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल, नेता रमेश प्रसाईंलगायतले मन्तव्य राखेका थिए।

साउन ३२, २०८० बिहीबार १७:५१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।