पुष्पा टण्डन घटनाको निश्पक्ष छानविन गर्न तिलोत्तमा नगरपालिकाको माग

पुष्पा टण्डन घटनाको निश्पक्ष छानविन गर्न तिलोत्तमा नगरपालिकाको माग

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तिलोत्तमा–४ ड्राइभरटोलकी पुष्पा टण्डनको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानविनको माग गरेको छ।

साउन २७ गते रुपन्देहीको कञ्चन गाउँपालिकाको फायरलाइन जंगलमा झुण्डिएको अवस्थामा पुष्पाको शव भेटिएको थियो।

नगरपालिकाले प्रेस विज्ञप्ति निकालेर घटना शंकास्पद देखिएको र पीडितको तर्फबाट प्रदर्शनसमेत भइरहेको भन्दै निष्पक्ष छानविनको माग गरेको हो।

नगरप्रमुख रामकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा घटनाको वास्तविक सत्यतथ्य सार्वजनिक गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।

घरदेखि करिब २५ किलोमिटर टाढाको जंगलमा मृत अवस्थामा भेटिएकी पुष्पाको मृत्यु ‘लेनदेन’का कारणले भएको परिवारले बताएको छ।

घर नजिकका छिमेकी लक्ष्मी पोखरेल भुसाल र उनका श्रीमान् रञ्जित भुसालसँग  लेनदेन व्यवहार भएको र त्यहि व्यवहारले उनले आत्महत्या गर्नुपरेको मृतकका श्रीमान् केशव टण्डनले बताए।

पुष्पालाई आत्महत्या गर्न बाध्य पारेको भन्दै मृतकका परिवारले उनै भुसाल दम्पत्तिलाई आत्महत्या दुरुसाहन सम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन्।

ईलाका प्रहरी कार्यालय सालझण्डीमा मृतकका परिवारले लक्ष्मी र रञ्जितविरुद्ध किटानी जाहेरी दिएको र त्यहि आधारमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रवक्ता श्यामु अर्यालले बताए।

साउन ३२, २०८० बिहीबार १६:५५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।