प्रचण्डको दाबी : आगामी निर्वाचनमा माओवादी २०६४ को भन्दा बलियो शक्ति भएर आउँछ

प्रचण्डको दाबी : आगामी निर्वाचनमा माओवादी २०६४ को भन्दा बलियो शक्ति भएर आउँछ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्र २०६४ को भन्दा बलियो शक्ति भएर आउने दाबी गरेका छन्।

२० औं दौरम्बा स्मृति दिवसमा बिहीबार रामेछापमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले अर्को निर्वाचनसम्म जाँदा माओवादी २०६४ को भन्दा बलियो शक्ति भएर आउने बताए।

‘अर्को निर्वाचनसम्म जाँदा माओवादी २०६४ को भन्दा बलियो शक्ति भएर आउने छ,’ उनले भने, ‘देश भित्रका केही ठूला योजनाहरु कार्यान्वयन गर्नेमा मेरो ध्यान केन्द्रित छौँ।’

अब पार्टीका सबै नेताहरू जनताको घरमा पुग्ने बताउँदै अध्यक्ष दाहालले जनताको हितमा काम गर्नुबाहेक अर्को कुनै विकल्प नभएको स्पष्ट पारे।

जनताप्रतिको जिम्मेवारी माओवादीले नै लिनपर्ने भन्दै गहिरो बोधका कारण सुशासनको अभियान सुरू गरेको उनले बताए।

‘यही वा अन्य कारणले गठबन्धन भित्र कुनै समस्या छैन। हामी एक ढिक्का छौँ। पार्टीले शुरू गरेको समाजवादको लडाइँ र सरकारले सुरु गरेको सुशासनको लडाइँ एक आपसमा सन्बन्धित छन्।’

पार्टी आफैं रुपान्तरणको बाटो आफूहरू अघि बढेको भन्दै उनले जनयुद्ध दिवस राष्ट्रिय दिवस र शहीदहरू राष्ट्रिय शहिद घोषणा गर्दा गर्व लागेको बताए।

२०६४ को संविधान सभा निर्वाचनमा व्यवस्थापिका संसदमा माओवादीका २२९ संविधानसभा सदस्य थिए। जसमध्ये १२० जना प्रत्यक्षबाट, १०० जना समानुपातिकबाट र ९ जना मनोनित थिए।

त्यो समयमा संविधान सभामा कांग्रेसका ११५, एमालेका १०८, मधेशी जनअधिकारी फोरमका ५४, तराई मधेश लोकतान्त्रिक पार्टीका २१ सांसद थिए। उक्त समय नेपालमा २४० निर्वाचन क्षेत्र थियो।

साउन ३२, २०८० बिहीबार १५:२९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।