क्रिकेट विश्वकप : इंग्ल्याण्डको टिमबाट बाहिरिए जोफ्रा आर्चर, भित्रिए सन्यास लिएका बेन स्टोक्स

क्रिकेट विश्वकप : इंग्ल्याण्डको टिमबाट बाहिरिए जोफ्रा आर्चर, भित्रिए सन्यास लिएका बेन स्टोक्स

एजेन्सी : इंग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चर विश्वकपको टोली छनोटको दौडबाट बाहिरिएका छन्।

चोटपछिको फिटनेसका कारण उनी टिममा पर्न नसकेका हुन्। यद्यपि वैकल्पिक खेलाडीका रूपमा उनले विश्वकपमा टोलीसँगै भारत भने आउनेछन्।

आर्चर चार वर्षअघिको विश्वकपमा इंग्ल्याण्डका लागि सर्वाधिक विकेट लिने खेलाडी थिए।

केही समयदेखि कुहिनोको चोटले समस्यामा परेका उनी यस वर्षको आईपीएलका केही खेलदेखि नै क्रिकेट खेलेका छैनन्। पछिल्लो पटक उनले मार्चमा इंग्ल्याण्डका लागि खेलेका थिए।

इंग्ल्यान्डका खेलाडी चयनकर्ता ल्यूक राइटले भने, ‘हामी उनलाई टोलीमा राख्न चाहन्थ्यौँ तर उनले समयमै आफ्नो फिटनेस प्रमाणित गर्न सकेनन्। उनी यस्तो चोटबाट ग्रस्त हुनु दुर्भाग्यपूर्ण छ। तर अहिले हामीसँग मूल्याङ्कन गर्ने समय छैन। हामीले जे गर्न सक्छौं त्यो गरेका छौँ, र उनी रिजर्भमा छन्।’

अर्कोतर्फ सन् २०१९ को विश्वकप जितका नायक इंग्ल्याण्डका टेष्ट कप्तान बेन स्टोक्सलाई एकदिवसीय टोलीमा ल्याइएको छ। उनी सन्यासबाट फर्किएर न्युजिल्यान्डविरुद्धको सिरिजमा सहभागी हुनेछन्। ३२ वर्षीय स्टोक्सले गत वर्ष मात्रै एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए।

राइटले भने, ‘स्टोक्स सधैँ फर्कन चाहन्थे। उनले एसेजपछि शरीरलाई अलिकति आराम दिने र त्यसपछि टोलीमा आउने निर्णय गरेका थिए। आराम गर्दा उनले आफ्नो शरीरले एकदिवसीय विश्वकप खेल्नसक्ने देखे।’

तर, घुँडाको चोटबाट निको भइरहेका स्टोक्सले न्युजिल्यान्डविरुद्धको एकदिवसीय सिरिजमा विशेषज्ञ ब्याट्सम्यानको रुपमा मात्र खेल्ने छन्।

यस वर्षको अन्तमा इंग्ल्याण्डको भारत भ्रमणअघि उनको घुँडाको शल्यक्रिया हुने तय भएको थियो, तर अब विश्वकपका कारण त्यसको सम्भावना देखिँदैन।

राइटले भने, ‘अहिले हामीले एक शुद्ध ब्याट्सम्यानको रूपमा छनोट गरेका छौँ। हामी निरन्तर उनको चोटको मूल्याङ्कन गर्नेछौँ र बलिङ गर्न दबाब दिने छैनौँ। जब उनी बलिङ गर्न फिट हुन्छन्, तब मात्र हामीले उनलाई बलिङ गर्ने कमाण्ड दिनेछौँ। विश्वकपमा अझै समय छ, तबसम्म हामी हेर्नेछौँ।’

यद्यपि ५ सेप्टेम्बरसम्म विश्वकपको टोली घोषणा गरिसक्नुपर्ने छ। त्यसमा फेरबदलको  समय २७ सेप्टेम्बरसम्म दिइएको छ।

साउन ३२, २०८० बिहीबार १४:३४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।