यौनकर्मी बनेर रत्नपार्कमा सुटिङ गर्दाको सुरक्षाको अनुभव : केहीले ‘जाने हो’ भन्दै बार्गेनिङ गर्न थालिहाले

यौनकर्मी बनेर रत्नपार्कमा सुटिङ गर्दाको सुरक्षाको अनुभव : केहीले ‘जाने हो’ भन्दै बार्गेनिङ गर्न थालिहाले

काठमाडौं : नेपाली फिल्ममा विभिन्न भूमिका निर्वाह गर्न सक्ने अभिनेत्रीका रुपमा आफूलाई स्थापित गरेकी अभिनेत्री सुरक्षा पन्तले यसपटक एक यौनकर्मीको भूमिका निर्वाह गरेकी छन्।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जुलेबी’मा उनले रत्नपार्क वरपर बसेर यौन व्यवसायमा लागेकी महिलाको भूमिका निभाएकी छन्। 

यसलाई अहिलेसम्मको फरक भूमिका भन्दै उनले यौनकर्मी बनेर फिल्मको छायांकन गर्दा निकै सतर्कता अपनाउनु परेको बताइन्। उनले आफूले यौनकर्मीको भूमिका निर्वाह गर्दा कसैले कलाकार हो भन्ने थाहा पाएर त्यहाँको वातावरण बिग्रिएला भन्नेमा निकै डर लागेको सुनाइन्।

‘रत्नपार्क भन्ने ठाउँमा साँझको समयमा एक त कोलाहल हुन्छ। त्यहाँ प्रहरीले बस्न दिंदैन। यौनकर्म गर्ने व्यक्ति कोही आउनुहुन्छ भने प्रहरीले हटाइ दिइहाल्नु हुन्छ,‘ उनले भनिन, ‘यदि त्यो पात्रका बारेमा फिल्म खिचिंदैछ भन्ने मात्र क्राउडलाई थाहा भयो भने पनि त्यहाँ राम्रो वातावरण हुँदैन। त्यहाँ कोलाहल हुन थाल्ला, कोही हच्किनु होला, डिस्ट्रभ होला भनेर सुटिङ निकै सेन्सेटिभ थियो।’

उनले फिल्मको सिन र आफूले गर्न लागेको पात्रलाई न्याय दिन फिल्मको छायांकन भइरहेको कुरा बिर्सिएर आफू पनि अरू यौनकर्मीको जस्तै गरेर वरपर घुमिरहेको बताइन्।

‘क्यामेरा कहाँ छ भनेर हामी कलाकारलाई थाहा पनि हुँदैन थियो। हामी यौनकर्मीको जस्तै ड्रेस लगाएर त्यहीं वरिपरी घुमिरहेका हुन्थ्यौं,’उनले भनिन्।

यौनकर्मीको भूमिकामा अभिनय गर्दा केही पुरुषहरुले आफूलाई ‘जाने हो’ भन्दै पैसामा बार्गेनिङ गरेका अनुभव उनले सुनाइन्।

‘चार/पाँच जना सोध्नलाई आउनुभएको थियो,’ उनले हाँस्दै भनिन्, ‘एकजना योङदेखि लिएर अलिक पाका उमेर समूहका व्यक्ति आएर ‘जाने हो’ भनेर सोध्नुभयो। त्यहाँ भन्ने शब्द नै ‘जाने हो’ भन्ने हुने रहेछ।’

बार्गेनिङ गर्दा उमेर अनुसारकाले फरक फरक तरिकाले सम्बोधन गर्दै ‘जाने हो, कति लिनुहुन्छ?’ भनेर सोधेको उनले बताइन्।

‘दिदी कति लिनुहुन्छ, बैनी कति लिनुहुन्छ?’ भनेर सोध्नुहुन्थ्यो। मेरो पात्रले ३ हजार राखेको हुनाले त्यहाँबाट नै बार्गेनिङ सुरु हुन्थ्यो। उहाँहरुले चाहिं मसँग यति कम छ, मिलाई दिनु न भन्दै १५ सयसम्मका कुरा गर्नुहुन्थ्यो। त्यहाँ नरमल्ली विजनेश बार्गेनिङ हुन्थ्यो।’

उनले यसरी दोहोरो कुरा गर्दा आफूले इन्जोई गरेको र यौनकर्मीको भूमिका र त्यहाँको बारेमा केही जान्ने मौका पाएको समेत सुनाइन्। 

रत्नपार्कको वरिपरि रहने यौनकर्मीको कथामा बनेको फिल्मलाई गणेशदेव पाण्डेले निर्देशन गरेका छन्। नवीन भट्ट कार्यकारी निर्माता रहेको यो फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षित लगायतको अभिनय छ।

फोरक्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई चलचित्र सेन्सर बोर्डले बिहीबार एडल्ट प्रमाण पत्र दिंदै सेन्सर पास गरेको छ। यो प्रमाण पत्रसँगै फिल्म १६ वर्ष मुनिकालाई हेर्न बन्देज लगाइएको छ।

साउन ३२, २०८० बिहीबार १४:०४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।