पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ : भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन्।

लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो। बुधबार साँझदेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको छ। वर्षा रोकिएपछि सडक खुलाउन थाल्ने प्रहरी नायव उपरीक्षक केसीले बताए।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोट लगायतका स्थानबाट बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौं लगायतका स्थानमा पुग्ने यातायातका साधन सडकमै ठप्प छन्। यात्रु बाटोमै अलपत्र परेका छन्।

कालीगण्डकी कोरिडोरमा चल्ने बागलुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारी साधन पनि ठप्प छन्।

साउन ३२, २०८० बिहीबार ११:२७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।