चन्द्रयानपछि भारतले अब ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने

चन्द्रयानपछि भारतले अब ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने

एजेन्सी : भारतिय स्पेस रिसर्च अर्गनाइजेसन, इसरोले यसै महिना पहिलो सोलार मिसन (आदित्य–एल१ स्याटेलाइट) प्रक्षेपण गर्ने योजना बनाएको छ।

सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ। उक्त स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको वातावरणमा यसको प्रभावको अध्ययन गर्न सातवटा उपकरण बोक्नेछ।

पृथ्वीबाट करिब १५ लाख किलोमिटरको दूरीमा रहेको सूर्यको कक्षमा पुग्न अन्तरिक्ष यानलाई करिब १०९ दिन लाग्नेछ।
यसअघि नै अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुगिसकेको छ। चन्द्रयानलाई अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गराउने भारतीय वैज्ञानिकहरूको तयारी छ।

भारतले चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्यसहित प्रक्षेपण गरेको थियो। यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुक पुगेका छैनन्। चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीन मात्रै पुगेका छन्।

चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो।

साउन ३२, २०८० बिहीबार १०:५८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।