काज फिर्ता हुँदा समेत नरदेवी फर्किएनन् डा. रामदेव, धरासायी बनेको वैद्यखानामा ६ दिनमा ३१ हजारको तेल खर्च
काठमाडौं : सर्वोच्च अदालतले सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएका डा. रामदेव यादवको नियुक्ति तीन महिना अघि नै बदर गरिदिएको थियो।
सर्वोच्चको आदेशको तीन महिनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. यादवलाई उनको दरबन्दी रहेको आयुर्वेद चिकित्सालय, नरदेवीमा फर्कायो।
मन्त्रालयले वैद्यखानामा भने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका ११ औं तहका महानिर्देशक डा. वासुदेव उपाध्यायलाई कार्यकारी प्रमुखको रुपमा थप जिम्मेवारी दिएर पठाएको छ। आइतबारदेखि डा. उपाध्यायले वैद्यखानामा पुगेर काम समेत सुरु गरिसकेका छन्। तर, स्वास्थ्य मन्त्रालयले नरदेवीमा काज फिर्ता गरे पनि यादव भने अझै नरदेवी गएका छैनन्।
नरदेवीमा काज फिर्ता भएपछि डा. यादवले वैद्यखाना प्रमुखको कार्यकक्षको चाबी एक जना कर्मचारीमार्फत बुझाए। तर, काज फिर्ता भएको ६ दिन भइसक्दा समेत डा. यादवले वैद्यखानालाई आफू निमित्त कार्यकारी निर्देशक रहँदा प्रयोग गरेका कागजात, गाडी, तेल (डिजेल र पेट्रोल) हाल्ने सुविधाको कुपन लगायतका सामान भने बुधबार साँझसम्म बुझाएका छैनन्।
त्यसैगरी गरी समितिको माइन्युटको रजिष्टर (फाइल)हरू समेत नबुझाएको वैद्यखाना स्रोतले बताएको छ। डा. यादव आफैंले समेत वैद्यखानालाई बरबुझारथ नगरेको स्वीकारेका छन्।
स्वास्थ्य मन्त्रालयले साउन २३ गते मन्त्री (मोहन बस्नेत) स्तरीय निर्णय गर्दै डा. यादवलाई ‘पदाधिकार रहेको कार्यालय आयुर्वेद चिकित्सालय, नरदेवीमा काज फिर्ता गरेको हो। मन्त्रालयले साउन २४ गते उनको काज फिर्ताको पत्र बनाइदिएको र वैद्यखानामा उनको काज फिर्ताको पत्र साउन २६ गते दर्ता भएको देखिन्छ।
धरासायी संस्थामा ६ दिनमा ३१ हजारको तेल सुविधा
त्यसो त नियुक्ति बदर भएको तीन महिनासम्म उनले वैद्यखानामा रहेर उनले आर्थिक तथा प्रशासनिक काम गर्न छाडेनन्। उता नियुक्ति नै बदर भइसकेपछि पनि उनले धरासायी भएको वैद्यखानाको कर्मचारीको रुपमा ६ दिनमा करिब ३१ हजारको तेल (पेट्रोल तथा डिजेल) सुविधा लिएको पाइएको छ।
उकेरालाई प्राप्त तथ्य अनुसार डा. यादवको नियुक्ति बदर भइसकेपछि समेत साउनमा वैद्यखानाका कर्मचारीको रुपमा ४१ हजार पाँच सय ६५ रूपैयाँको को तेल लिएको देखिन्छ। त्यसैगरी असारमा ६ दिनमा मात्रै वैद्यखानाका कर्मचारीले ३१ हजार सात सय ६० रूपैयाँको तेल लिएको देखिन्छ। यो तेल हाल्ने कुपन डा. यादवसँग मात्रै भएकाले उनले र उनलाई मनपर्ने कर्मचारीका लागि उनैको निर्देशनमा यो रकमको तेल हालेको वैद्यखाना स्रोतले जानकारी दियो।
नियुक्ति नै बदर हुँदा समेत अटेरी गर्दै वैद्यखानामा बस्दै
अदालतले तीन महिनाभित्रमा सिंहदरबार वैद्यखानाको कार्यकारी निर्देशक नियुक्ति गरिसक्नु भनेर आदेश दिंदै २०८० वैशाख तीन गते डा. यादवको नियुक्ति बदर गरिदिएको थियो। तर, यसमा मन्त्रालयको मौनता देखिएको थियो।
उकेराले साउन १७ गते यसै विषयमा समाचार सम्प्रेषण गरेको थियो। त्यसपछि स्वास्थ्य मन्त्रालयले साउन २३ गते डा. यादवलाई नरदेवीमा काज फिर्ता गरेको हो।
तत्कालीन स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले मन्त्री स्तरीय निर्णय गर्दै २०७९ असोज ११ गते डा. यादवलाई सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकका रुपमा जिम्मेवारी दिएका थिए। आयुर्वेद चिकित्सालय, नरदेवीमा काम गरिरहेका वरिष्ठ कन्सल्टेण्ट काय–चिकित्सा (दशौं तह) का डा. यादवलाई मन्त्री खापुङले वैद्यखानाको कामकाज गर्नका लागि भन्दै जिम्मेवारी दिएका थिए।
निर्वाचनको आचारसंहिता सुरु भएपछि नियुक्त भएका डा. यादव असोज १४ गते वैद्यखानामा हाजिर भएका थिए।
खापुङले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सिंहदरबार वैद्यखाना विकास समितिको आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी निमित्त कार्यकारी निर्देशकका रुपमा खटाएपछि आयोगमा मन्त्रालय र डा. यादव विरुद्ध उजुरी परेको थियो।
निर्वाचन आचारसंहिता विपरीत नियुक्ति गरेको भन्दै निर्वाचन आयोगले खापुङलाई पाँच हजार जरिमाना समेत गरेको थियो।
वैद्यखाना विकास समितिका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीले नियम विपरीत नियुक्त भएकाले उनको नियुक्ति बदरको माग गर्दै स्वास्थ्य मन्त्रालय, डा. यादव र वैद्यखाना विकास समितिलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए।
त्यसपछि २०८० वैशाख ३ गते सर्वोच्च अदालतले डा. यादवको नियुक्ति नियम विपरीत ठहर गर्दै बदरको आदेश दियो। सर्वोच्चले ‘अन्य कार्यालयबाट (डा. यादवलाई) कार्यकारी निर्देशकमा कार्य गर्नका लागि सिंहदरबार वैद्यखानामा काज सरुवा गरेको मन्त्री स्तरको २०७९ असोज ११ को निर्णय कानुन अनुरूप नभएको देखिएकाले उक्त निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहर’ गरेको थियो।
अदालतले सिंहदरबार वैद्यखाना विकास समिति (गठन) आदेश, २०७७ को दफा–९ को प्रक्रिया समेत पूरा गरी वैद्यखानामा रिक्त रहेको कार्यकारी निर्देशक पद तीन महिनाभित्र नियुक्ति गर्नु भनेर विपक्षीहरूका नाममा परमादेशको आदेश समेत जारी गरेको थियो।
अदालतको आदेश अनुसार साउन ३ गतेभित्र वैद्यखाना विकास समितिको सिफारिसमा स्वास्थ्य मन्त्रालयले वैद्यखानाको कार्यकारी निर्देशक नियुक्ति गरिसक्नु पर्ने थियो। तर, मन्त्रालयले निर्देशक नियुक्तिमा आलटाल गर्दै आएको थियो।
डा. यादवको नियुक्ति नै बदर भएकाले उनी आफ्नो दरबन्दी भएको ठाउँमा आयुर्वेद चिकित्सालय, नरदेवीमा तीन महिना अघि नै फर्कि सक्नुपर्ने थियो। तर,उनी वैद्यखानामा नै निमित्त कार्यकारी प्रमुखको हैसियतमा बसिरहेका थिए। दैनिक रुपमा आर्थिक र प्रशासनिक लगायत प्रमुखकको हैसियतले गर्ने सबै काम गरिरहेका थिए।
काज फिर्ता भए पनि वैद्यखानाकै सम्पति प्रयोग गर्दै
डा. यादवले रमना लिन र बरबुझारथ गर्न नपाएकोले वैद्यखानाबाट नरदेवी जान नपाएको दाबी गरे। तर यादवको यो भनाइ नाटक मात्र भएको आयुर्वेदतर्फका एक सरकारी चिकित्सकले जानकारी दिए। डा. यादवले वैद्यखानाको प्रशासनमा बरबुझारथ बुझाउन समेत सक्ने उनले बताए।
डा. यादव कामकाजको लागि नरदेवीमा खटिएकाले रमना नलिइसमेत उनको दरबन्दी भएको ठाउँ (आयुर्वेद चिकित्सालय)मा हाजिर भएर कुनै दिन बरबुझारथ गर्न सकिने समेत ती चिकित्सकले बताए। वैद्यखानामा डा. यादवले हाजिर गर्न नमिल्ने भएकाले काज फिर्ता भएपछि रमना पाए पनि नपाएपनि उनी दरबन्दी भएको ठाउँमा हाजिर गर्न पुग्नु पर्ने र रमना आवश्यक परेपछि लिन समेत सकिने उनले बताए।
अर्कोतर्फ डा. यादव वैद्यखानामा नै सामान बुझाउन र रमना लिन समेत नगएको वैद्यखाना स्रोतले बताएको छ।
डा. उपाध्याय थप जिम्मेवारी सम्हाल्दै आइतबार नै सिंहदरबार वैद्यखाना विकास समितिमा पुगेका थिए। उनले आइतबार नै कर्मचारीसँग केही छलफल समेत गरेका थिए। सोमबार पनि वैद्यखाना पुगेका उनी बुधबार भारत गएका छन्।
डा. यादवले भने डा. उपाध्यायसँग कुरा भए पनि नभेटेका कारण वैद्यखानाका कागजात, गाडी लगायत बुझाउन नपाएको तर्क गरे।
उनले डा. उपाध्याय भारतबाट फर्कनासाथ सबै बरबुझारथ गरेर रमना लिएर नरदेवी जाने तर्क गरे, ‘ उहाँको प्रतीक्षामा छु। जतिबेला आउनुहुन्छु, म (सामान, खातापाता) बुझाइदिन्छु, रमना लिएर जान्छु, यहाँ म किन बस्ने?’
तर, उनको त्यो भनाइ तर्कसंगत भने देखिंदैन। किनकी डा. उपाध्याय नेपालमा रहुञ्जेल न त उनले बरबुझारथ बुझाउन तत्परता देखाए न बरबुझारथ बुझाउन वैद्यखाना नै पुगे।
वैद्यखानाको निर्देशकको कार्यकक्षको चाबी भने काज फिर्ता भएको पत्र वैद्यखानामा दर्ता भएकै दिन बुझाएको डा. यादवले बनाए। तर, अरू सामान भने उनले किन बुझाएनन् भन्ने प्रश्नको विषय हो।
उनले त आफूले गाडी प्रयोग नगरेको समेत दाबी गरेका छन्। तर, वैद्यखानाको प्रमुखको हैसियतमा उनले चढ्ने गरेको ‘बा १ झ ८२५०’ नम्बर प्लेटको गाडि सोमबार साँझसम्म बानेश्वरस्थित ओम कारेश्वर मन्दिरको नजिक रहेको ‘केशव आयुर्वेद हस्पिटल एण्ड रिसर्ज सेन्टर’ भित्र पार्किङ गरेको देखिएको थियो।
यता कार्यकारी प्रमुखको किचलोमा रुमल्लिरहेको वैद्यखानाको उत्पादन भने करिब शून्य अवस्थामा झरिसकेको छ, वैद्यखाना दिनानुदिन धरासायी बन्दैछ।
वैद्यखानाका थप सामग्री
साउन ३२, २०८० बिहीबार ०९:१०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।