सांसद विनोद चौधरी एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मानित हुने

सांसद विनोद चौधरी एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मानित हुने

काठमाडौँ : नेपाली कांग्रेसका सांसद एवं व्यवसायी  विनोद चौधरी एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मानित हुने भएका छन्।

दुबईस्थित म्युजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा चौधरीलाई सम्मान गर्न लागिएको हो।

एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्दै आएको छ।

यसअघि आर्ट अफ लिभिङका संस्थापक श्री रविशंकर, सर बेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी,अभिनेता ज्याकी च्यानलगायत यो सम्मानबाट सम्मानित भएका छन्।

उनी चौधरी फाउन्डेसनमार्फत नेपालमा सामाजिक कार्यमा संलग्न छन्।

फाउन्डेसनले सन् २०१५ मा गएको भूकम्पको समयमा भूकम्प पीडितका लागि करिब तीन हजार घर बनाएर १० जिल्लाका पीडितहरूलाई हस्तान्तरण गरेको थियो।
फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ वटा पक्की घर निर्माण गरेको थियो।

चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरु भएको कोभिड महामारीपश्चात् कोभिड प्रभावित नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आइसियु निर्माण गरेर हस्तान्तरण गरेको थियो।

फाउन्डेसनले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड (इमर्जेन्सी वार्ड)निर्माण गरी हस्तान्तरण गरेको थियो।

त्यस्तै, चौधरी फाउन्डेसनले सरकारलाई पिसिआर रिएजेन्ट र भेन्टिलेटरहरू सहयोग गरेको थियो।अहिले चौधरी फाउन्डेसन नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय अस्पतालहरूको गुणस्तर अभिवृद्धि गरी स्थानीय नागरिकले घर नजिकै गुणस्तरीय सेवा पाउने वातावरण बनाउन सक्रिय छ।

साउन ३२, २०८० बिहीबार ०५:२६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।