घुसको रकम जम्मा गर्न अर्कैको नाममा खाता, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुसको रकम जम्मा गर्न अर्कैको नाममा खाता, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भैरहवा : मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले रूपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रममा कमिसन लिएको आरोपसहित सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। 

प्रवक्ता दाहालका अनुसार गाउँपालिकामा अवैध कमिसन जम्मा गराउनका लागि अर्कै व्यक्तिको नाममा बैंक खाता खोलिएको थियो।

यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखिएको उजुरी राष्ट्रिय सतर्कता केन्द्रबाट छानबिन गरी विस्तृत अध्ययन गर्न आयोगमा फाइल पठाइएको थियो।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्याल, उनका छोरा पवनकुमार अर्याल, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष नारायणबहादुर यादव, वडा नम्बर ५ र ६ का वडासचिव गुलाब यादव, समृद्ध नेपाल इनर्जीका प्रोप्राइटर विनोदबाबु तिवारी, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल ट्रेनिङ इन्स्टिच्युटका प्रोप्राइटर अमरिश यादवमाथि मुद्दा दायर गरेको छ।

दाहालका अनुसार प्रमुख प्रशासकीय अधिकृत अर्यालले रु १३ लाख ४५ हजार घुस लिएको अख्तियारले पुष्टि गरेको छ। अख्तियारले अर्यालबाट घुस लिएको रु १३ लाख ४५ हजार जफत, त्यसअनुसारको जरिवाना र कैद सजायको माग दाबी लिएको छ। उहाँका छोरा पवन कुमारसँग पनि सोही बिगोबमोजिमको सजाय मागदाबी गरेको छ।

साउन ३१, २०८० बुधबार १९:५३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।