पहिरोको जोखिमले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

पहिरोको जोखिमले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

म्याग्दी : मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ।

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो। 

जिल्ला प्रशासन कार्यालय म्याग्दीले बुधबार सूचना जारी गरेर सडकमा ढुङ्गा, पहिरो खस्ने र नदी किनारमा धाँजा फाटेर जोखिम हुने भएकाले वर्षायामभर रातको समयमा गलेश्वर–दाना खण्डमा यातायात सञ्चालन नगर्न अनुरोध गरेको छ। 

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पहिरो र कटानका कारण दुर्घटनाको जोखिम देखिएकाले रातको समयमा यातायात बन्द गरिएको बताए। स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा १० वटा पहिरो छन्। 

साउन २० गतेदेखि अवरुद्ध भएको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा आज दिउँसोदेखि सिधा यातायात सञ्चालन हुन थालेको छ। रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रमा सडक माथिबाट पहिरो चलेपछि सिधा यातायात अवरुद्ध बनेको थियो।

साउन ३१, २०८० बुधबार १९:२२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।