इंग्ल्याण्ड पहिलो पटक महिला विश्वकपको फाइनलमा
काठमाडौँ : इंग्ल्याड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। आयोजक राष्ट्र अस्ट्रेलियालाई ३–१ ले पराजित गर्दै इंग्ल्याड फाइनलमा प्रवेश गरेको हो।
इंग्ल्याड पहिलो पटक महिला विश्वकपको फाइनमा पुगेको हो। यस अगाडि इंग्ल्याड ३ पटकसम्म सेमिफाइनलमा पुगेर पराजित भएको थियो।
फाइनल पुग्न खेलको पहिलो हाफको ३६ औँ मिनेटमा इंग्ल्याडले गोल गरेर १–० को अग्रता लिएको थियो।
खेलको ६३ औँ मिनेटमा पेनाल्टी बक्स बाहिरबाट इंग्ल्याडका २ वटा डिफेन्डरलाई बिट गर्दै स्याम किरले अस्ट्रेलियाको लागि गोल फर्काएर बराबरी गरेकी थिइन्।
अस्ट्रेलियाले गोल फर्काएर बराबरी गरेको ७ मिनेटमा इंग्ल्याडकी लरेन हेम्पले पेनाल्टी बक्स भित्र डिफेन्डरको ट्याकललाई विफल पार्दै गोल गरेर अग्रता लिइन्।
इंग्ल्याडकै एलेसिया रुसोले खेलको ८६ औँ मिनेटमा अर्को गोल थपिन् र ३–१ को नतिजासहित फाइनलमा प्रवेश गर्ने बाटो क्लियर गरिन्।
अब इंग्ल्याड र स्पेनबिच भदौ ३ मा फाइनल हुनेछ।
साउन ३१, २०८० बुधबार १९:०४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।