ललिता निवास प्रकरणका दुई आरोपी अदालतको आदेशमा रिहा भए, प्रहरी अनुसन्धान अन्तिम चरणमा

ललिता निवास प्रकरणका दुई आरोपी अदालतको आदेशमा रिहा भए, प्रहरी अनुसन्धान अन्तिम चरणमा

काठमाडौँ : ललिता निवासमा रहेको सरकारी जग्गाको कागजपत्र किर्ते गरेर हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि प्रहरी थुनामा रहेका दुई आरोपी रिहा भएका छन्।

मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्म गौतम र समरजङ्ग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेको उमेर र शारीरिक अवस्था देखाएर बुधवार काठमाडौँ जिल्ला अदालतले दुबैलाई रिहा गर्न आदेश दिएको हो।

अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूसहितलाई म्याद थप्न अदालतमा उपस्थित गराएको थियो।

अदालतको आदेश अनुसार दुई जना बुधवारै हिरासतमुक्त भएका छन् भने अन्यको हकमा ५ दिनको न्यायिक हिरासतको म्याद थपिएको छ।

सिआइबीले किर्ते र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ। सङ्गठित अपराधमा अधिकतम ६० दिन अनुसन्धानका लागि समय हुन्छ। म्यादको आधारमा अनुसन्धान अन्तिम चरणमा रहेको छ।

तीन सय भन्दा बढी आरोपी भए पनि अधिकांश आरोपीहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। पक्राउ परेका पनि अधिकांश उपचारकोक्रममा अस्पतालमा रहेका छन्।

सर्वोच्च अदालतको आदेशका आधारमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराइको समेत बयान लिने तयारी गरिए पनि कहिले बयान लिने पक्का देखिएन। ब्युरोले पूर्व मुख्यसचिव लीलामणि पौडेलको बयान लिइसकेको छ।

साउन ३१, २०८० बुधबार १८:४६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।