विमानस्थल र भन्सारको सुरक्षा सुधार गर्न कार्यदल बनाउँदै सरकार

विमानस्थल र भन्सारको सुरक्षा सुधार गर्न कार्यदल बनाउँदै सरकार

काठमाडौँ : सरकारले त्रिभुवन विमानस्थलको सुरक्षा अवस्थाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने भएको छ। सुन तस्करी लगायतका गम्भीर प्रकृतिको अपराध बढेसँगै प्रधानमन्त्री कार्यालयले विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर गर्न कार्यदल बनाउन लागेको हो।

मुख्यतः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै तारन्तार भइरहेको सुन तस्करीको घटनापछि सरकारको आलोचना भइरहेको छ। गम्भीर प्रकृतिको आपराधिक घटना सार्वजनिक भए लगत्तै एक अर्कालाई दोष देखाउने प्रवृत्ति बढेको बेलामा सरकारले कार्यदलै गठन गर्न खोजेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको व्यवस्थापन र सुरक्षा व्यवस्थामा हेरफेर ल्याउनुपर्ने देखिएको भन्दै कार्यदल गठन गर्ने जानकारी दिएका हुन्।

बुधवार उनले मन्त्रालय, सुरक्षा र भन्सारसँग जोडिएका मन्त्रालय र कार्यालयका प्रतिनिधीहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका थिए।

‘विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे हामीले गम्भीर समीक्षा र अध्ययन गर्ने बेला भएको छ’ प्रधानमन्त्रीले भने‘छिट्टै विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइन्छ। त्यो कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर ल्याउनुपर्छ।'

 

उनले अब स्थितिको गम्भीर समीक्षा गरेर अगाडि कसरी बढ्ने, विगतका कमीकमजोरी कसरी सच्याउने भन्नेतिर ध्यान जानुपर्ने बताएका थिए।

'नकारात्मक चीजलाई शिक्षाका रूपमा लिएर अगाडि बढाउनुपर्ने बताउनुभयो। सोच, संरचना, कार्य विभाजन र कार्यशैलीमा सुधार गर्नेतिर जोड गर्नुपर्छ’ उनले बैठकमा भनेका थिए।

छलफलमा सहभागी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अपराधमा नयाँ-नयाँ प्रविधि र तौरतरिकाको प्रयोग भएको बताउँदै देशको समग्र सुरक्षा अवस्था र चुनौतीबारे गम्भीर अध्ययन गरी त्यसका आधारमा नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्ने बताएका थिए।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन राज्यका निकायहरूबिच अन्तर निकाय समन्वय थप चुस्त बनाउनुपर्नेमा जोड दिएका थिए।छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको साटो गृह सचिव दिनेश भट्टराई सहभागी थिए। उनले त्रिभुवन विमानस्थल लगायत देशभरिका विमानस्थलको अवस्था, सुरक्षा व्यवस्थापन, विमानस्थलमा कार्यरत कार्यालय र निकायहरूको कार्य जिम्मेवारी एवं वर्तमान अवस्था लगायत सुरक्षा चुनौती र सरकारले निगरानी राख्नुपर्ने विषयहरूमा मन्त्रालयको धारणा राखेका थिए।

बैठकमा प्रधानमन्त्रीका सल्लाहकारहरू, राष्ट्रिय सुरक्षा सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, राष्ट्र बैङ्कका गभर्नर, गृह सचिव, रक्षा सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन सचिव, अर्थ सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक, अध्यागमन विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकहरू, नागरिक उड्डयन प्राधिकरणका प्रमुख लगायत सरोकारवाला निकाय र कार्यालयका अधिकारीहरू उपस्थित थिए।

साउन ३१, २०८० बुधबार १७:४०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।