गीतकार उपचार कोषको लागि नाचघरमा साङ्गीतिक कार्यक्रम हुने
काठमाडौँ : गीतकार उपचार कोषमा सहयोग जुटाउन गीतकार सङ्घ नेपालले ‘गीतकार साङ्गीतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ।
कार्यक्रम शुक्रवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा हुन लागेको हो। सङ्घका अध्यक्ष वसन्त वित्यासी थापाका अनुसार साङ्गीतिक कार्यक्रममा पुराना स्रष्टाहरूले आफ्नो गीत सुनाउने छन्।
कार्यक्रममा रत्न शमशेर थापाद्वारा रचित दुई गीत ‘जाग लम्क चम्क, ए कान्छा ठट्टैमा, किरण खरेलको ‘वसन्त नै बस्न खोज्छ यहाँ, यादव खरेलको ‘गैरी खेतको, भैरवनाथ रिमाल ‘कदम’को जुन फूल मैले, उदास मेरो जीवन’ प्रस्तुत हुने छन्।
यस्तै नगेन्द्र थापाको ‘चिनारी हाम्रो, राजेन्द्र थापाको ‘पोहोर साल खुसी फाट्दा, प्रेम विनोद नन्दनको ज्यानको माया नैना रेसम, विश्व वल्लभको भाग्यले खुसी, शिवशङ्कर थापाको भन्थिन् मेरी उनी, दुर्गालाल श्रेष्ठको ‘फूलको आँखामा फूलै संसार’ गीतहरू प्रस्तुत गरिने छन्।
अध्यक्ष थापाले भने,‘नेपाली गीति लेखनमा योगदान पुर्याउनु हुने स्रष्टाहरूको योगदानलाई कदर गरी गीतकार सङ्घ नेपालले राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित अग्रज गीतकारहरूको चर्चित गीत यो कार्यक्रममा प्रस्तुत गरिने छ। यो उहाँहरूको सम्मानका लागि हामीले कार्यक्रमको आयोजना गर्न लागेका हौँ ।’
साङ्गीतिक कार्यक्रममा अग्रज गीतकारहरूका गीतहरू प्रत्यक्ष बाजा सहित प्रस्तुत गरिने पनि अध्यक्ष थापाले बताए।
साउन ३१, २०८० बुधबार १७:२२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।