सुन तस्करीको अनुसन्धानमा उच्च निगरानीमा चिनियाँ नागरिक, नियन्त्रणमा लिँदै छाड्दै सीआईबी, विशेष ब्युरो पनि जोडियो

सुन तस्करीको अनुसन्धानमा उच्च निगरानीमा चिनियाँ नागरिक, नियन्त्रणमा लिँदै छाड्दै सीआईबी, विशेष ब्युरो पनि जोडियो

काठमाडौँ : चिनियाँ गिरोहको संलग्नतामा ६० किलो सुन नेपालमा तस्करी भएको अनुसन्धानको निचोडसँगै प्रहरीले नेपालमा रहेका चिनियाँ नागरिकमाथि निगरानी बढाएको छ।

अध्यागमन र नाकाहरूमा चिनियाँ नागरिकमाथि निगरानी बढाएसँगै अन्यत्र रहेका चिनियाँ नागरिकमाथि समेत प्रहरीले निगरानी बढाएको हो।

राजश्व अनुसन्धान विभागबाट अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आए लगत्तै प्रहरी महानिरीक्षकको सचिवालयले सुन तस्करी अनुसन्धानमा विशेष ब्युरोलाई समेत परिचालन गरेको छ। शंकास्पदहरुको खोजीमा सिआइबीसँगै विशेष ब्युरोको टिम समेत खटिएको प्रधान कार्यालयको स्रोतले उकेरासँग पुष्टि गर्यो।

चिनियाँ नागरिकमाथिको निगरानी र नियन्त्रणकैक्रममा सिआइबीले मङ्गलवार काठमाडौँबाट थप चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। ब्युरोले तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काइलाई पक्राउ गरेर हिरासतमा राखेको छ। यीमध्ये एक महिला समेत छिन्।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा प्रहरीले छापा मार्दा चिनियाँ नागरिकहरूले अवैध कारोबारका लागि टन्नै गोदामहरू राखेको खुलेको थियो। त्यस लगत्तै प्रहरी चिनियाँ नागरिक केन्द्रित विशेष अप्रेसनमा केन्द्रित भएको देखियो।

सोमबार चिन जान त्रिभुवन विमानस्थल पुगेका तीन चिनियाँ नागरिक पक्राउ परेका थिए। तर ब्युरोको अनुसन्धानमा उनीहरू सुन तस्करीमा संलग्न देखिएनन्।

पक्राउ परेकामध्ये जोङ छ्याङलाई ब्युरोले चाहिएको बेला उपस्थित हुने सर्तमा छाडेको छ। झाओ हुई र ताङ जिङको साथमा प्रहरीले ३१ लाख ८० हजार रुपैयाँ बरामद गरेकाले छानबिनका लागि दुबैलाई राजश्व अनुसन्धान विभाग पठाएको ब्युरो स्रोतले बतायो।

विभागले पक्राउ गरेको दुई चिनियाँ नागरिक सुन तस्करीमा नजोडिएको भन्दै ब्युरोले पहिल्यै रिहा गरिसकेको छ।

अहिले प्रहरी हिरासतमा भारतीय, चिनियाँ र नेपालीसहित १७ बढी आरोपीहरू छन्। प्रारम्भमा ब्रेकसु बरामद हुँदा एक सय किलो बढी सुन रहेको दाबी गरिए पनि पगालेर जोख्दा ६० किलो सुन निस्किएको थियो।

साउन ३१, २०८० बुधबार १७:०५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।