तिलोत्तमाकी ३६ वर्षीय पुष्पाको शव जङ्गलमा भेटियो, २० पन्नाको डायरीभरि लेनदेनको ब्यहोरा

तिलोत्तमाकी ३६ वर्षीय पुष्पाको शव जङ्गलमा भेटियो, २० पन्नाको डायरीभरि लेनदेनको ब्यहोरा

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ की ३६ वर्षीय पुष्पा टण्डन साउन २७ गते बिहान रुपन्देहीको सालझण्डी फायरलाएनको जङ्गलमा मृत भेटिइन्।

उनी २६ गते घरबाट स्कुटर लिएर हिँडेकी थिइन्। उनको स्कुटर अस्पताल लाइनमा भेटियो। घरदेखि करिब २५ किलोमिटर टाढा जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला पर्यो।

परिवार उनले आत्महत्या गरेको स्विकार्न तयार छैन। आत्महत्या गर्न बाध्य बनाएको भन्दै अनुसन्धानको माग गरिरहेका छन्। उनीहरूको दाबी अनुसार पुष्पाको मृत्यु ‘लेनदेन’ का कारणले भएको हो।

श्रीमान् केशव घर नजिकका छिमेकी लक्ष्मी पोखरेल भुसाल र उनका श्रीमान् रञ्जित भुसालसँग उनको लेनदेन व्यवहार थियो। त्यही कारण उनले आत्महत्या गरेको उनको तर्क छ।

उनी पुष्पालाई आत्महत्या गर्न बाध्य पारेको दाबी गर्छन्। उनीहरूले भुसाल दम्पत्तीविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी किटानी जाहेरी समेत दर्ता गराए। दुबैलाई प्रहरीले पक्राउ समेत गर्यो।

मृतकका परिवारले इलाका प्रहरी कार्यालय सालझण्डीमा लक्ष्मी र रञ्जित विरुद्ध किटानी जाहेरी दिएको र त्यही आधारमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रवक्ता श्यामु अर्यालले उकेरालाई बताए।

‘आत्महत्या दुरुत्साहन विरुद्ध किटानीपछि उहाँहरूलाई पक्राउ गरिएको छ। घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान अघि बढेको छ। थप तथ्यहरू प्राप्त हुने क्रममा छन्’ उनले भने।

प्रहरीले मृतक पुष्पाको कल डिटेल निकालेर अनुसन्धान गरिरहेको देखियो। यसबाट को-कोसँग लेनदेन रहेको भन्ने खुल्ने प्रहरीको आस देखियो।

मृतक पुष्पाले २० पानाको सुसाइड ‘नोट’ समेत लेखेकी थिइन्। त्यो भेटिएको छ। प्रहरीले त्यो ‘नोट’ पनि अनुसन्धान गरिरहेको बताइएको छ।

उक्त नोटमा पुष्पा र रञ्जितसँग १७ लाख ८० हजारको व्यवहार रहेको र रकम उठाउन अरू व्यक्तिको प्रयोग गरेर धम्की दिएको भेटिएको मृतकका आफन्त विकास टण्डनले बताए।

‘त्यो नोटमा कसले धम्की दिएको छ भन्ने समेत लेखिएको छ। हामीले किटानी दिँदा त्यो नाम दिएका छैनौ। प्रहरीले त्यो डायरी लगेर गएको छ’ उनले भने।

सालझण्डी फायरलायनमा रहेको जङ्गलको एक रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी पुष्पाको लक्ष्मी र रञ्जितसँग केही हप्ता अघि झगडा भएको उनको परिवारका सदस्यको दाबी छ।

लक्ष्मीले उनका श्रीमान् रञ्जित र मृतक पुष्पाबिच अनैतिक सम्बन्ध राखेको भन्दै पुष्पालाई तनाव र धम्की दिएको परिवारको दाबी छ।

‘लक्ष्मीले पुष्पालाई आरोप लगाएकी थिइन। आरोप पुष्टि हुने केही देखिँदैन। उनले लेखेको २० पानाको डायरीमा पनि यो सम्बन्ध बारे केही लेखेकी छैनन्। त्यसमा लेनदेनको कुरा मात्र छ’ मृतकका आफन्त टण्डनले भने।

गुल्मीको गुल्मीदरवार गाउँपालिका–४ बिरबास भट्टेचौंर घर भएकी पुष्पाको परिवार २०७२ सालदेखि रुपन्देहीमा बसोबास गर्दै आएका थिए। पुष्पाका १ छोरा र १ छोरी छन्।

घटना हुनु अघिसम्म कोरियामा रहेका पुष्पाका श्रीमान् केशव टण्डन नेपाल आएर श्रीमतीको न्यायका लागि अपिल गरिरहेका छन्।

श्रीमान् केशवले पुष्पा आत्महत्या गर्ने स्वभावको नभएको बताए। कसैले आत्महत्या गर्न बाध्य पारेको उनको दाबी छ।

साउन ३१, २०८० बुधबार १५:२८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।