बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

बागलुङ : मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ।

विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन्।

आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो।

बाढीले विद्युत्का पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए।

बाढीले पोल र तारमा क्षति पुर्याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उनले बताए। उनका अनुसार यस क्षेत्रमा विद्युत् वितरणको काम निलगिरी उपभोक्त सहकारीले गर्दै आएको छ।

‘अहिले विद्युत् पूर्ण रूपमा अवरुद्ध छ। सञ्चालनका लागि सहकारीले कामदार खटाएर मर्मतको काम गरिरहेको छ,’ प्रजिअ केसीले भने, ‘उपभोक्ता सहकारीलाई भोलिका दिनमा कुनै दुर्घटना नहुने गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छौँ। उहाँहरूले अस्तिदेखि नै पोल र तार मर्मतको काम गरिरहनुभएको हो।’

विद्युत् अवरुद्ध हुँदा कागबेनीका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको धावा दोर्जे गुरुङले बताए।

‘अहिले बाढीपीडित कोही आफन्तकोमा आश्रय लिएर त कोही सुरक्षित स्थानमा अस्थायी गाँठ बनाएर बसेका छन्,’ उनले भने, ‘विद्युत् फोन सम्पर्क गर्न पनि समस्या भइरहेको छ।’

साउन ३१, २०८० बुधबार १२:५७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।