‘तपाईंजस्ता मान्छे धेरै आइसके’ भनेपछि रुपन्देही कांग्रेसका दुई समूहबीच मञ्चमै हात हालाहाल
रूपन्देही : रुपन्देहीमा नेपाली कांग्रेसका दुई समूहबीच सार्वजनिक कार्यक्रममै हात हालालहाल भएको छ।
आम निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका भरत कुमार शाह र सोही निर्वाचन क्षेत्रका पूर्व प्रदेशसभा सदस्यसमेत रहेका नेता फकरुद्दिन खानबीच सार्वजनिक कार्यक्रममा मञ्चमै हात हालाहाल भएको हो।
रुपन्देहीको क्षेत्र नम्बर ५ मा आन्तरिक विशेष अभियान अन्तर्गतको कार्यक्रममा भरतकुमार शाहले बोल्ने क्रममा खानमाथि अपमानित व्यवहार गरेपछि मञ्चमै हात हालाहालको स्थिति सिर्जना भएको हो।
भरत कुमार शाहले बोल्ने क्रममा कांग्रेसका महासमिति सदस्य रहेका फकरुद्दिन खानप्रति लक्षित गर्दै ‘तपाईंजस्ता मान्छे कांग्रेसमा धेरै आए’ भने।
शाहले भने, ‘नेपाली कांग्रेस बुझ्नलाई समय लाग्छ अझै। नेपाली कांग्रेस त्यत्तिकै बुझिन्न। यो पार्टीमा तपाईंजस्ता मान्छे धेरै आइसके। मच्छेलाल यादव यहिँ हुनुहुन्थ्यो, छविलाल भुसाल यहिँ हुनुहुन्थ्यो। उनीहरू कहाँ गए? आज छन् त यी रामनारायण यादव छन् नि त ४८ सालदेखिको।’
शाहले यति भन्नेबित्तिकै मञ्चमै रहेका खानले उठेर प्रतिवाद गरेका थिए। उनले ‘हैन हजुरले भन्न के खोज्नुभाको? मलाई के टार्गेट गर्न खोज्नुभाको?’भने।
त्यसपछि भने अन्य कार्यकर्ताहरू मञ्चमा उक्लिएका थिए।
खान हालै मात्र संस्थापन समूहबाट इतर समूहमा लागेका व्यक्ति हुन्। अघिल्लो प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत भएका खान अहिले भने प्रदेश सभाको निर्वाचनमा पराजित भएका थिए।
भरत कुमार शाह पनि एमालेका बासुदेव घिमिरेसँग पराजित भएका हुन्। दुई समूहबीच हात हालहाल भएपछि रूपन्देही कांग्रेसको विवाद सतहमा आएको छ।
कांग्रेस महासमिति सदस्य फखरुद्दिन खान केही असमझदारीका कारण घटना घटेको र आन्तरिक घटना भएको बताए।
साउन ३१, २०८० बुधबार ११:५६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।