अल हिलालसँगको सम्झौतापछि नेयमारले भने- खेलकुदमा नयाँ इतिहास लेख्न चाहन्छु

अल हिलालसँगको सम्झौतापछि नेयमारले भने- खेलकुदमा नयाँ इतिहास लेख्न चाहन्छु

काठमाडौं : ब्राजिलियन स्टार फुटबलर नेयमारले खेलकुदमा नयाँ इतिहास लेख्न चाहेको बताएका छन्।

साउदी अरबियन क्लब अल हिलालमा आबद्ध भएपछि ३१ वर्षीय स्टार फुटबलर नेयरमारको यस्तो अभिव्यक्ति आएको हो।

नेयमारले भने, ‘म खेलकुदको नयाँ इतिहास लेख्न चाहन्छु, त्यसको लागि साउदी आएको हुँ। साउदी प्रो लिगमा यतिबेला ठूलो ऊर्जा र गुणस्तरीय खेलाडीहरू छन्।’

नेयमारले थुप्रै ब्राजिलियन खेलाडीहरू साउदी अरबमा खेलिरहेको बताउँदै यो स्थान आफ्नो लागि रोजाइको भएको बताए।

‘म साउदी अरबमा वर्षौंदेखि खेलेका ब्राजिलियन खेलाडीहरूको लामो सूची पछ्याउँदै छु, यो मैले आउन चाहेको स्थान हो भन्नेमा म विश्वस्त छु।’

आफूले युरोपमा थुप्रै उपलब्धी हासिल गरिसकेको भन्दै उनले आफू विश्वयापी खेलाडी बन्न चाहेकोसमेत बताए।

‘मैले युरोपमा धेरै उपलब्धि हासिल गरेको छु र विशेष समयको आनन्द उठाएको छु,’ उनले थपे, ‘तर म सधैं विश्वव्यापी खेलाडी बन्न चाहन्छु र नयाँ ठाउँमा नयाँ चुनौती र अवसरहरूसँग आफूलाई परीक्षण गर्न चाहन्छु।’

नेयमार दुई वर्षको सम्झौता गर्दै साउदीको क्बल हिलालमा गएका हुन्। सम्झौता अनुसार उनले वार्षिक ३०० मिलियन डलर प्राप्त गर्दा एडअन र कमर्सियल डिलमार्फत ४०० मिलियन पुग्नेछ।

पीएसजीमा जाँदा सन् २०१७ मा नेयमारले २०० मिलियन पाउन्डमा सम्झौता गरेका थिए। त्यतिबेलाको त्यो सर्वाधिक महँगो सम्झौता रहेको थियो।

साउन ३१, २०८० बुधबार ०९:३४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।