सर्लाहीमा भेटिएको बेवारिसे शव सिन्धुलीका व्यक्तिको

सर्लाहीमा भेटिएको बेवारिसे शव सिन्धुलीका व्यक्तिको

लालबन्दी : सर्लाहीको ईश्वरपुर नगरपालिकामा फेला परेको शव सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १३ का व्यक्तिको रहेको खुलेको छ।

मंगलबार बिहान ११ बजे फूलोजोर चोकभन्दा करिब ५० मिटर तल एक बेवारिसे शव फेला परेको थियो।

केही दिनेदेखि उक्त क्षेत्रमा देखिइरहेका ती व्यक्ति बिरामी रहेका र उनको साथबाट केही औषधिसमेत फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।

‘हेर्दा बिरामीजस्ता देखिने उनको साथबाट हामीले केही औषधि पनि फेला पारेका छौँ,’ थापाले भने, ‘उहाँले हरिवनमा केही दिनअघि चेकजाँच गराएको पुर्जा हामीले भेट्यौँ।’

उक्त बिरामी पुर्जाबाट मृतकको नाम दुर्गाबहादुर विक रहेको खुले पनि आफन्तहरू नआउँदासम्म पूर्ण सनाखत हुन भने नसकेको उनले बताए।

ती व्यक्तिको तस्बिरका आधारमा उनका आफन्तहरूले चिनेका र उनीहरूलाई बोलाइएको थापाले बताए।

मृतकका आफन्तहरू सिन्धुलीबाट आउँदै गरेका र आएपछि जिम्मा लगाउने तयारी गरिएको छ। शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

साउन ३१, २०८० बुधबार ०८:५१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।