तेस्रो मिनेटमै अग्रता बनाएको इन्टर मियामी फाइनलमा, मेस्सीले पनि गरे गोल
काठमाडौं : लियोनल मेस्सीको कप्तानीमा रहेको अमेरिकन क्लब इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ।
सेमिफाइनलमा फिलाडिलफिया युनियन लाई ४–१ गोलले हराउँदै मेस्सी नेतृत्वको टिम फाइनल प्रवेश गरेको हो।
मियामीको जितमा जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान एक–एक गोल गरे।
खेलको तेस्रो मिनेटमै मियामीका लागि मार्टिनेजले गोल गर्दा २०औं मिनेटमा मेस्सीले अग्रतालाई दोब्बर बनाए। एकतर्फी खेलको पहिलो हाफको इन्जुरी समयमा अल्बाले गोल गर्दै मियामीको अग्रतालाई ३–० मा पुर्याए।
खेलको ७३ औं मिनेटमा फिलाडिलफियाका अलेजान्द्रो बेडोयाले टिमका लागि सान्तवना गोल गरे। तर त्यसको ११ मिनेटमै अर्थात खेलको ८४औं मिनेटमा मियामीका रुइजले थप एक गोल गर्दै फाइनलको यात्रा पक्का गरे।
योसँगै मेस्सीले मियामीका लागी लगातार ६ खेलमा ९ गोल गरेका छन्।
साउन ३१, २०८० बुधबार ०७:४८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।