शुक्रबारसम्म दिउँसोमा भारी वर्षा नहुने

शुक्रबारसम्म दिउँसोमा भारी वर्षा नहुने

काठमाडौं : अगामी शुक्रबारसम्म दिउँसोमा भारी वर्षा नहुने भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारसँगै बिहीबार र शुक्रबार पनि दिउँसोमा भारी वर्षाको सम्भावना नदेखिएको हो।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका पहाडी भू–भागको केहि स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

बिहीबार र शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य रही पहाडी भू–भागको केहि स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तर, बुधबार र बिहीबार राति कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको छ। यस्तै शुक्रबार भने कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

अहिले भने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेकाले कोशी प्रदेशको केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

साउन ३१, २०८० बुधबार ०७:११:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।