लगातार १५ फिल्म फ्लप भएपछि अक्षय कुमारले लिएका थिए क्यानडाको नागरिकता, २०२३ मा छाडे
एजेन्सी : भारतीय अभिनेता अक्षय कुमार भारतीय नागरिक नभई क्यानेडियन नागरिक भएको सार्वजनिक भएसँगै भारतमा हङ्गामा नै भएको थियो।
२०१९ मा उनको राष्ट्रियता खुलेको थियो। त्यसयता लगातार उनको आलोचना हुँदै आएको थियो। सन् २०२३ को स्वतन्त्रता दिवसको दिन उनले आफ्नो भारतीय नागरिकता सार्वजनिक गरे। अब अक्षय कुमार पूर्ण रूपमा भारतीय नागरिक भएका छन्।
उनले आफूले भारतीय नागरिकको कानुनी हक छाडेर किन क्यानडाको नागरिक बन्न स्वीकार गरेकोबारे पनि खुलाएका छन्। पिटिआइसँगको कुराकानीमा उनले ९० को दशकमा एकपछि अर्को गर्दै आफूले अभिनय गरेका फिल्महरू फ्लप भएपछि सुरक्षित भविष्यका लागि भनेर क्यानडाको नागरिक बनेको बताएका छन्।
'सन् ९० को दशकमा मेरो करिअरको अवस्था निकै नाजुक थियो। मेरो लगातार १५ फिल्म फ्लप भयो। अनि क्यानडाको नागरिक बन्ने निर्णय गरेँ।'
पछिल्लो समय भने उनको एकपछि अर्को फिल्म हिट हुन थाले। उनी फिल्म मेकिङ मेसिन समान सक्रिय भए। अहिले पनि उनले अभिनय गरेको ओ माई गड-२ प्रदर्शन भइरहेको छ।
साउन ३०, २०८० मंगलबार २२:०९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।