ओलीलाई भेटेपछि रावलले भने- फेरि कुराकानी गर्ने कुरा भयो

ओलीलाई भेटेपछि रावलले भने- फेरि कुराकानी गर्ने कुरा भयो

काठमाडौं : एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग फेरि कुराकानी हुने बताएका छन्।

पार्टी कार्यालय ओलीसँगको भेटपछि बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै रावलले फेरि कुराकानी हुने जानकारी दिए।

‘धेरै लामो समयपछि भेट भएको हो। उहाँ पार्टीको अध्यक्ष पार्टीको अध्यक्षसँग धेरै देश विदेशको विषयमा जानकारी हुन्छ सूचना हुन्छ,’ उनले भने, ‘म पनि अध्ययन गर्ने मान्छे। आफ्ना विचारहरू, अहिलेको अवस्था के छ कस्तो छ भन्ने भयो। फेरि कुराकानी गर्ने कुरा छ।’

गतवर्ष चितवनमा भएको दशौं महाधिवेशनमा ओलीसँगै रावलले पनि अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। तर, उनी पराजित भए। त्यसपछि दुईबीच संवाद हुन सकेको थिएन।

त्यसपछि पार्टीको कुनै पनि कमिटीमा नबसेका रावललाई गतवर्ष संसदीय निर्वाचनमा समेत ओलीले टिकट दिएनन्। जिल्ला र अछाम क्षेत्र नम्बर १ बाट उम्मेदवारका लागि निर्विरोध चयन भएका उनलाई ओलीको प्रत्यक्ष हस्तक्षेपमा टिकट दिइएको थिइन।

उनको स्थानमा माओवादीबाट एमाले आएका झपट बोहरालाई टिकट दिए पनि पराजित हुन पुगे। अछाम–१ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवरले जितेर सांसद भए।

रावललाई टिकट नदिएपछि अछाम लगायत कर्णाली र सुदूरपश्चिममा उनका पक्षधरले एमालेको औपचारिक कार्यक्रम नै बिथोल्नसमेत खोजेका थिए।

एकपटक परिस्थिति यस्तोसम्म भइसकेको थियो कि एमालेले उनलाई कारबाहीसमेत गर्ने चेतावनी दिएको थियो।

साउन ३०, २०८० मंगलबार १९:४०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।