जग्गा कित्ताकाट खुल्यो, संशोधित भू-उपयोग नियमावली स्वीकृत
काठमाडौँ : मन्त्रिपरिषद्को बैठकले संशोधित भू-उपयोग नियमावली स्वीकृत गर्दै जग्गा कित्ताकाट खुलाएको छ।
मन्त्रिपरिषद्ले यस अगाडि नै रोकिएको जग्गाको कित्ताकाट खुलाउने निर्णय गरे पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नियमावली नै पेस गरेको थिएन।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्ले गरेको निर्णय पनि कार्यान्वयन नभएको भन्दै आलोचना गरेपछि मङ्गलवारको बैठकमा मन्त्री रन्जिता श्रेष्ठले संशोधित भू-उपयोग नियमावली स्वीकृतका लागि पेस गरेकी थिइन्। बैठकले सो प्रस्ताव पास गरेको हो।
नियमावली संशोधन भएसँगै अब वर्गीकरण नभएको क्षेत्रका जग्गाको पनि कित्ताकाट हुने कानुनी बाटो खुलेको छ।
यसअघि उपत्यकामा कृषि जमिन ५ सय वर्ग मिटर र तराई र भित्री मधेसमा ६७५ वर्ग मिटरभन्दा कम कित्ताकाट गर्न नपाइने व्यवस्था थियो। आवासीय जग्गा १३० वर्ग मिटरभन्दा कमको कित्ताकाट रोकिएको थियो।
तर स्थानीय निकायले नीति अनुसार कित्ताकाट नगर्दा जग्गा कारोबार ठप्प भएको थियो। जग्गा कारोबार रोकिदा त्यसको प्रभाव अर्थतन्त्रमा परेको र अर्थतन्त्र चलायमान नभएको भन्दै प्रधानमन्त्री प्रचण्ड नीति परिवर्तनको पक्षमा उभिएका थिए। तर मन्त्रालयले ढिलाइ गर्दै आएको थियो।
साउन ३०, २०८० मंगलबार १९:३४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।