केपी ओलीले फेरि भने– प्रतिनिधि सभा विघटन सही थियो

केपी ओलीले फेरि भने– प्रतिनिधि सभा विघटन सही थियो

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधि सभा विघटन सही भएको बताएका छन्।

मंगलबार पार्टीको बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको वामपन्थी आन्दोलन समाप्त पार्ने योजना रोक्न प्रतिनिधि सभा विघटन गरेको बताए।

प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने उनको दाबी थियो।

‘हामीले पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गर्यौँ, हामीले ठिक ठानेर गर्यौँ, ठिक भनेर गर्यौँ, ठिक थियो र गर्यौँ, नगरी नहुने थियो र गर्यौँ, बिल्कुलै समसामयिक कदम चाल्यौँ,’ उनले भने, ‘होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो, ध्वस्त पार्ने षड्यन्त्र थियो, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी छिनाल्दियौँ।’

अध्यक्ष ओलीले संसद विघटनपछि पार्टीको सदस्यबाटै निकालिए पनि संगठन विस्तार र सुदृढ गरेर मजबुत बनाएर प्रमुख पार्टीका रुपमा पुनः स्थापित गरेको बताए।

‘त्यो राजनीतिक, संवैधानिक, संसदीय कदम थियो, मुख्य रुपमा त्यो प्रतिक्रियावादी षड्यन्त्रको विरोधमा जाने एउटा सचेत कदम थियो, त्यो चाल्नै पथ्र्यो,’ संसद भंगबारे ओलीले थपे, ‘त्यसपछि हामी फागुन ११ मा फेरि प्रतिनिधि सभा पुनः स्थापना हुँदासम्म मजबुत रुपमा पुग्यौँ।’

अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल वामपन्थी आन्दोलन समाप्त पार्नका लागि हदैसम्म गिरेको आरोप लगाउँदै दुई तिहाईको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएकोसमेत भन्न भ्याए।

साउन ३०, २०८० मंगलबार १९:२६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।