फेसबुकको अधिक प्रयोगले मनोवैज्ञानिक असर नपार्ने अध्ययनको निष्कर्ष
एजेन्सी : अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटको एक अध्ययनले फेसबुकको व्यापक प्रयोगको मनोवैज्ञानिक समस्यासँग कुनै सम्बन्ध नरहेको देखाएको छ। सो इन्स्टिच्युटले ७२ देशमा फेसबुकको प्रभाव र त्यसले प्रयोगकर्ताको मनोविज्ञानमा पारेको प्रभावबारे अध्ययन गरेको थियो।
उनीहरूले सामाजिक सञ्जालको प्रयोग मनोवैज्ञानिक रूपमा कत्तिको हानिकारक छ भनेर अध्ययन गरेका थिए। अध्ययनले सामाजिक सञ्जालको प्रयोग र मनोविज्ञानमा पर्ने प्रभावको सम्बन्ध नभएको निष्कर्ष निकालेका हुन्।
यो अध्ययनमा मेटाको फेसबुकको मात्र अध्ययन गरिएको थियो। इन्स्टाग्राम लगायतका अन्य सामाजिक सञ्जालको प्रयोगकर्ताको अध्ययन गरिएन।
इन्स्टिच्युट प्रोफेसर एन्ड्रयु प्रिजिबिल्स्कीले बिबिसीलाई दिएको जानकारी अनुसार अध्ययनमा जुन देशमा फेसबुकको प्रयोग बढ्दो क्रममा छ त्यहाँका प्रयोगकर्तामा कत्तिको नकारात्मक प्रभाव परेको छ भन्ने जिज्ञासाको उत्तर खोजिएको बताएका छन्।
'सामान्यतया सामाजिक सञ्जालको प्रयोग मनोविज्ञानका लागि हानिकार हुन्छ भन्ने आम सोच रहेको छ। तर हामीले अध्ययनको क्रममा सङ्कलन गरेको तथ्याङ्क र त्यसको विश्लेषणले त्यस्तो केही नतिजा देखाएन' उनले भनेका छन्।
सो अध्ययनमा फेसबुक प्रयोग गर्ने किशोरहरूमा त्यसबाट उनीहरूको मनोविज्ञानमा प्रभाव पारेको निकै कम तथ्याङ्क फेला परेको बताइएका छ।
अध्ययनमा मनोविज्ञानमा प्रभाव पार्न सक्ने सामाग्री र त्यसले पारेको प्रभावबारे समेत तथ्याङ्क सङ्कलन गर्ने प्रयास भएको थियो। अध्ययनको क्रममा उनीहरूले फेसबुकबाट आवश्यक तथ्याङ्कहरू लिएका थिए।
अध्ययनमा फेसबुकको कुनै पनि प्रकारको प्रभाव नभएको दाबी गरिएको छ।
साउन ३०, २०८० मंगलबार १९:०६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।