थाइल्यान्डमा बसोबास गर्ने नेपालीलाई परिचयपत्र उपलब्ध गराउन माग

थाइल्यान्डमा बसोबास गर्ने नेपालीलाई परिचयपत्र उपलब्ध गराउन माग

काठमाडौं : थाई नेपाली संघले गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई आग्रह गरेका हुन्।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा संघका पदाधिकारीले थाइल्याण्डमा बसोबास गर्ने नेपालीभाषी थाई नागरिकलाई गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेको अध्यक्षको सचिवालयले जनाएको छ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मूलका नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आवश्वासन दिए।

अहिले थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरू दोस्रो विश्व युद्धताका म्यान्मार हुँदै थाइल्याण्ड पुगेका नेपालीका चौथो पुस्ता हुन्।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले उपलब्ध गराउने परिचयपत्र पाउन समेत थाइल्याण्डमा बसोबास गरेका नागरिकलाई कठिन भएको छ।

परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिसा र अन्य सुविधाबाट बञ्चित हुनु परेको तथा नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्याण्डकी अध्यक्ष वासाना राईले बताए।

थाइल्याण्डमा झण्डै एक लाखको सङ्ख्यामा नेपालीभाषी रहेको अनुमान छ।

साउन ३०, २०८० मंगलबार १६:५६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।