व्यापारीलाई अर्थमन्त्रीको प्रश्न 'भ्याटमा आउन किन समस्या हो?'
काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न बहाना बनाएर करको दायरामा नआएकाहरूलाई छुट दिन नसकिने बताएका छन्। सानोतिनोलाई लछारपछार पार्ने, तर जो अनेक चलखेल गर्छ, उसलाई के गर्ने भन्ने देखिएको भन्दै त्यस्तालाई पनि अब करको दायरामा ल्याउने बताए।
केही व्यक्ति तथा फर्मले बढी कर तिर्न तयार भए पनि मूल्य अभिवृद्धि कर (भ्याट) मा आउन आनाकानी गरिरहेको भन्दै प्रश्न गरे' भ्याटमा आउन किन समस्या हो? यसमा पनि गम्भीर कुरा हुनसक्छ। यसको खोजी गर्नुपर्छ।’
देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको व्यवस्थापन गोष्ठीमा बोल्दै उनले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका थिए।
आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताउँदै यसमा उद्योगी र व्यवसायीहरू सकारात्मक हुनुपर्ने धारणा राखेका थिए।
आन्तरिक उत्पादन बढाउनका लागि संरक्षण गर्ने सरकारको नीतिको किसानहरूले स्वागत गरेको उल्लेख गर्दै उनले यसबाट कोही पनि आतङ्कित नहुन आग्रह गरे।
‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ। यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो? के सधैँ आयात मात्र गर्नुपर्छ भन्ने कुरा हो? ’ उनको प्रश्न थियो।
उनले निजी क्षेत्रले सम्पूर्ण रूपमा खराब छ भन्नु नहुने र अहिले अर्थतन्त्र सकारात्मक गतिमा रहेको दाबी समेत गरे।
'बिस्तारै ब्याज घटिरहेको छ,’ अर्थमन्त्री महतले भने, 'सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैँ नकारात्मक भन्नु हुँदैन। हामी सकारात्मक दिशामा जानु छ, जानुपर्छ।'
उनले निजी क्षेत्रलाई नकारात्मक कुरा मात्र नगर्न, बरु सकारात्मक कुराहरूको चर्चा गर्न सुझाव दिए।
'निजी क्षेत्रले खराब मात्र छ भनेर हल्ला फैलाउनु राम्रो होइन। हाम्रो देशमा नकारात्मकता नै लोकप्रिय हुने गरेको छ। राम्रो कुराको चर्चा नै हुँदैन' उनले भने।
अर्थतन्त्र अहिले पनि ऋणात्मक नभएको र केही सुस्तमात्र भएको तर अब बैङ्कमा पर्याप्त तरलता रहेको, बिस्तारै ब्याजदर पनि घटेकाले माग सिर्जना भएर गतिविधि बढ्ने उनको दाबी थियो।
'बजारमा पैसा जति पनि छ तर सबै मिलेर खत्तम भयो भन्ने भाष्यको प्रचार बढी भएपछि मान्छे खर्च गर्न र ऋण लिन डराइरहेको छ। त्यसैले निजी क्षेत्र यसमा सकारात्मक हुनुपर्छ’ उनले भने।
साउन ३०, २०८० मंगलबार १५:३१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।