‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ मंसिरमा

‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ मंसिरमा

काठमाडौं : दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी आगामी मंसिरमा हुने भएको छ।

मंसिर ५ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा पुस्तक प्रर्दशनी हुन लागेको स्टेशनरी व्यवसायी सघंका महासचिव शिवसागर शर्माले जानकारी दिए।

‘यो प्रदर्शनीमा दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूको सहभागिता रहने भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको आयात, निर्यात, वितरणमा सहकार्य एवं सहजीकरणको वातावरण बन्नेछ,’ उनले भने, ‘यस महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौं।’

चीन, अमेरिका, इजिप्टलगायत दक्षिण एसिया क्षेत्रका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने प्रदर्शनीमा तीन सय बढी स्टल रहने शर्माले बताए। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको करेन्ट मिडिया एण्ड रिर्सच सेन्टर प्रालिको सहकार्यमा प्रदर्शनी हुन लागेको हो।

स्थापनाको पहिलो वर्ष २०६४ मा नै महासंघले ‘सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने नाराका साथ पहिलोपटक बुटवलमा वृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सम्पन्न गरेको थियो।

पठन संस्कृतिको विकास गरी राष्ट्रमा शिक्षित एवं बौद्धिक जनशक्ति वृद्धि गर्ने लक्ष्य पूरा गर्नका लागि ‘हातहातमा पुस्तक, घरघरमा पुस्तकालय’, ‘गुणस्तरीय उत्पादन मर्यादित व्यापार, नीति निर्माणमा पहुँच साङ्गठनिक आधार’ आदि जस्ता शैक्षिक, सामाजिक नाराका साथ वृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको अभियान मेचीदेखि महाकालीसम्म पुगेको थियो।

२०६४ देखि २०७४ सम्ममा बुटवल, धनगढी, चितवन, पोखरा, झापा, दाङ र नेपालगन्ज गरी बृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका आठओटा संस्करण भव्यरूपमा सम्पन्न गरिसकेको छ।

महोत्सवका सबै संस्करणहरूमा सर्जक, उत्पादक, आयातकर्ता, वितरक, खुद्रा व्यवसायी, पाठक सबै पक्षलाई एकै ठाउँमा भेला गराई विभिन्न समसामयिक विषयमा छलफल तथा बहस चलाउँदै शिक्षा, साहित्य, कला र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुयाउँदै आएका व्यक्तित्वहरूलाई सम्मानसमेत गर्दै आइरहेको छ।

यसबाहेक महासङ्घको पहलमा विभिन्न जिल्ला तथा प्रदेश स्तरमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्नुका साथै अन्य सहयोगी संस्थाहरूसँगको सहकार्यमा काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवहरूको सफल आयोजना सम्पन्न गरेको छ।

यस बृहत पुस्तक तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेशनलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरिएको आयोजकलाई बताएको छ।

साउन ३०, २०८० मंगलबार १४:४५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।