बुटवल उपमहानगरद्वारा विद्यालयका लागि नयाँ शुल्क निर्धारण

बुटवल उपमहानगरद्वारा विद्यालयका लागि नयाँ शुल्क निर्धारण

बुटवल : बुटवलका निजी तथा संस्थागत विद्यालयले २०७६ सालमा तोकेको शुल्क भन्दा बढी शुल्क लिएको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालयका लागि नयाँ शुल्क निर्धारण गरेको छ।

उपमहानगपालिकाले २०७६ सालमा बनाएको शुल्कसम्बन्धी मापदण्डभन्दा बढी शुल्क लिएको गुनासो अभिभावकहरूले गरेपछि उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरूले लिने शुल्क निर्धारण गरेको हो।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकहरूबाट लिने मासिक शुल्क, भर्ना शुल्क, प्रयोगशाला र बसको नयाँ भाडादर निर्धारण गरेको र सो शुल्क राजपत्रमा समेत प्रकाशित भएको बताए।

उनले राजपत्रमा प्रकाशित भएकाले नयाँ शुल्क साउन महिनाबाटै कार्यान्वयनमा आउने बताए।

‘यदि कसैले तोकिएको शुल्क भन्दा बढी शुल्क लिएको भए त्यो शुल्क अर्को महिनामा समायोजन हुन्छ,’ उनले भने।
साथै उनले शुल्कको पूर्ण कार्यान्वयन नभए उपमहानगरपालिकाले कडा कारबाही गर्ने समेत बताए।

कसले कति लिन पाउँछन्?

उपमहानगरपालिकाले विद्यालयलाई क, ख र ग बर्ग छुट्टाएर शुल्क निर्धारण गरेको छ। निजी विद्यालयले पूर्वप्राथमिक तहका लागि क बर्गकाले बढीमा २ हजार ७५० शुल्क लिन पाउनेछन्। ख बर्गकाले २ हजार ४ सय ग बर्गकाले २ हजार शुल्क लिने पाउनेछन्।

त्यसैगरी प्राथमिक तहमा कक्षा १ देखि ५ सम्म क बर्गका विद्यालयले ३ हजार रूपैयाँसम्म, ख बर्गकाले २ हजार ६ र ग बर्गकाले २ हजार २ सय शुल्क लिन पाउनेछन्। यस्तै निमावि तहमा कक्षा ६ देखि ८ सम्म क, ख र ग बर्गकाले क्रमशः ३ हजार ३ सय, ३ हजार र २ हजार ६ सय रूपैयाँ लिन पाउनेछन्।

यस्तै माध्यमिक विद्यालयका लागि क बर्गकाले ४ हजार २ सय, ख बर्गकाले ३ हजार ६ सय ग बर्गकाले ३ हजार २ सय शुल्क लिन पाउनेछन्।

त्यस्तै मावि ११ र १२ मा विज्ञान विषयका लागि मासिक शुल्क बढीमा ४७ सय, ५ हजार र ५२ सय लिन पाउनेछन्। यस्तै व्यवस्थापनतर्फ, क्रमशः ४३ सय, ४७ सय र ५ हजार शुल्क निर्धारण गरेको छ।

बुटवलका निजी तथा संस्थागत विद्यालयहरूले तोकिएको मापदण्डभन्दा ३० देखि ७३ प्रतिशतसम्म शुल्क असुल्ने गरेको पाइएपछि उपमहानगरपालिकाले नयाँ शुल्क निर्धारण गरेको हो।

साउन ३०, २०८० मंगलबार ०८:४९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।